काठमाडौं । तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रममन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन। पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन।”
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताए। उनले थपे, “गलत भएको भए तपाईंलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ। म ढुक्क छु, मेरो कुनै गल्ती छैन।”