घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध: संयोजक शाह
कर्पोरट खबर
6:48 am, शनिबार, जेठ २, २०८३
- संविधान संशोधन कार्यदल संयोजक असिम शाहले जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
- छलफलपछि घाइते तथा सहिद परिवारले सरकारसँग संवादको बाटो खुलेको भन्दै सन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
संविधान संशोधनका विषयमा सुझाव सङ्कलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि उनीहरूले विगतको सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूले आफ्ना माग सम्बोधनका लागि सहजीकरण गरिदिन संयोजक शाहसँग आग्रहसमेत गरे ।
संयोजक शाहले वर्तमान सरकार जेन्जी आन्दोलन कै जगमा बनेको र यसले जेन्जीको हकहितका लागि निरन्तर काम गरिरहेको बताए । उनले सरकारका बारेमा कुनै पनि भ्रम नपाल्न आग्रह गर्दै भने “यो सरकार जेन्जी आन्दोलन कै जगमा बनेको हो । तपाईँहरूको भावना र बलिदानलाई हामीले बिर्सेका छैनौँ । त्यसैले यो सरकार तपाईँहरूकै सरकार हो ।”
सरकारले सुशासन र भ्रष्टाचारको मामिलामा’ शून्य सहनशीलताको नीति अपनाएको छ । संयोजक शाहले सरकार र जेन्जी आन्दोलनका घाइते तथा सहिद परिवारबीच संवादमा केही दूरी बढेको महसुस भएको स्वीकार गरे । अबका दिनमा आफ्ना मागका लागि उनीहरूले थप दौडधुप गरिरहनु नपर्ने आश्वस्त पार्दै उनले भने, “तपाईँहरूका माग पूरा गर्न हामी आफैँ लाग्नेछौँ ।”
कार्यदलका सदस्य सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लिलाधर सुवेदीले पनि शाहको प्रतिबद्धतामा ऐक्यबद्धता जनाउँदै यो सरकार जेन्जीको माग पूरा गर्न पहल गर्ने बताए । शाह र सुवेदीको तर्फबाट स्पष्ट प्रतिबद्धता आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएका घाइते तथा सहिद परिवारका सदस्यले सन्तुष्टि व्यक्त गर्नुभएको छ । उनीहरूले आजको छलफलबाट माग कार्यान्वयनका लागि सरकारसँग संवादको बाटो खुलेको बताए ।