काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गर्दै कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका २२ वर्षीय प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार खड्कामाथि प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी विभिन्न व्यक्तिलाई धम्की दिने तथा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ । खड्काले दैलेख दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरेर धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । कार्यालयले घटनामा संलग्न व्यक्तिविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । दैलेखको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।
२- संसद बैठकमा मोबाइल चलाएको भन्दै आलोचना भएपछि सांसद महावीर पुनले स्पष्टीकरण दिएका छन् । पुनले आफ्नो बानीनै त्यस्तो भएको भएको भन्दै मोबाइल चलाएपनि सांसदहरुले बोलेको आफुले सुन्ने गरेको बताएका छन् । उनले भनेका छन्- मेरो भनाई सुन्नुहोस- मैले सदनमा माननीय सांसदज्यूहरु बोल्दै गर्दा मोबाईल चलाएको देखेर धेरैलाई रीस उठेको छ । माफ गर्नु होला । मैले मोबाईलमा काम लाग्ने केहि न केहि कुराहरु पढिरहेको हुन्छु र लेखिरहेको हुन्छु । मेरो आँखा मोवाईलमा भए पनि कानले चाँहि भाषण सुनेकै हुन्छ र सुनेको कुरा दिमागमा राखी रहेकै हुन्छु । कुनै अर्को मान्छे छेउमा आएर कुनै कुरा गयो भने त्यो पनि मज्जैसंग सुन्छु । मेरो बानी नै यस्तै छ त हजुर, के गर्ने ।
३- बार्सिलोनाका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनपछि क्लब छाड्ने भएका छन् । क्लबले शनिबार औपचारिक रूपमा उनको बिदाइको घोषणा गरेको हो । ३७ वर्षीय पोलिस स्ट्राइकरले यसै साता प्रशिक्षणका क्रममा सहकर्मी र प्रशिक्षक टोलीलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । उनले बार्सिलोनामा बिताएका चार वर्षलाई आफ्नो करिअरकै ‘सबैभन्दा अविस्मरणीय अध्याय’ बताएका छन् । लेवान्डोस्कीले सामाजिक सञ्जालमार्फत चार वर्षमा तीन लिग उपाधिसहित सात ट्रफी जित्न सफल भएको उल्लेख गर्दै समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले क्याटालोनियालाई ‘आफ्नो जीवनको विशेष स्थान’ समेत बताएका छन् । सन् २०२२ मा बायर्न म्युनिखबाट करिब ५ करोड युरोमा बार्सिलोना आएका उनले १९१ खेलमा ११९ गोल गरेका छन् । उनी क्लबका सर्वाधिक गोलकर्ताको सूचीमा १४औँ स्थानमा रहेका छन् । पहिलो सिजनमै उनले सर्वाधिक गोलकर्ता पुरस्कार जित्दै टोलीलाई लिग उपाधि दिलाएका थिए । बार्सिलोनाले पनि लेवान्डोस्कीको योगदानको प्रशंसा गर्दै उनले गोल, नेतृत्व र उत्कृष्ट प्रतिस्पर्धी भावना मार्फत क्लबमा गहिरो छाप छाडेको जनाएको छ । अब उनको नयाँ गन्तव्यबारे चर्चा सुरु भएको छ । युभेन्टस र अमेरिकन फुटबल लिगका केही क्लबसँग नाम जोडिए पनि साउदी क्लब अल हिलालले उनलाई वार्षिक ९ करोड युरो बराबरको प्रस्ताव गरेको बताइएको छ ।
४- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ र २० मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिन चीन जान लागेका हुन् । रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको ‘सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ । यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो । रिपोर्टका अनुसार क्रेमलिनले जारी गरेको वक्तव्यमा पुटिनले आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँग रुस–चीनबीचको ‘व्यापक साझेदारी र रणनीतिक सहयोग’ का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ । क्रेमलिनका अनुसार दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् । छलफलपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ । पश्चिमी देशहरूले रुसको तेल तथा ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार बनेको छ ।

५- नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित हासिल गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १९६ रन लक्ष्य पछाएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्दै १२० रन बनाएका थिए । त्यस्तै इशान पाण्डेले अविजित २० रन बनाएका थिए भने आसिफ सेखले ५८ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए । यो यस लिग-२ साइकलमा नेपालले पहिलो पटक अमेरिकालाई पराजित गरेको हो । यो जितपछि नेपालको २६ खेलमा २० अंक भएको छ । त्यस्तै अमेरिकाको २६ खेलमा ३६ अंक रहेको छ । अब सिरिजको अर्को खेल मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

६- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् । उपकुलपति बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन । अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । तर, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । रिक्त रहेको पदपूर्ति नहुदा सम्मका लागि पदाधिकारी तोकिएको हो । नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाउदै उपकुलपति सिफारिस समिती गठन भई आवेदन माग गरिएको छ ।

७- पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ११८१ जनालाई अनुमति दिएको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि मे १५ सम्म ११८१ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मे १५ सम्म २८३ महिला र ८९८ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ४९४ जनाले अनुमति पाएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी चीनका १५६ जना, अमेरिकाका १५० जना, भारतका ९७ जना, बेलायतका ७४ जना, जर्मनीको ७२ जना, रसियाका ७० जना रहेको विभागले जनाएको छ । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने सगरमाथा आरोहणका लागि अहिलेसम्म ४९४ जनालाई अनुमति दिएको छ ।
त्यस्तै विभागले सगरमाथा आरोहणका लागि मे १५ सम्म ५१ टिमका १०५ महिला र २८९ पुरुष गरि कुल ४९४ जनालाई अनुमति दिएको जानकारी दिएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न चीनका २५ महिला र ८३ पुरुष गरि १०९ जनाले अनुमति लिएका छन् । त्यस्तै अमेरिकाका ९ महिला र ६८ पुरुष गरि ७७ जना, भारतका २६ महिला र ३५ पुरुष गरि ६१ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ । यी अनुमतिबाट अहिलेसम्म एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।
८- अमेरिकाका विभिन्न राज्यमा रहेका ग्यास स्टेशनहरूको प्रणालीमा साइबर आक्रमण भएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरूले यस घटनामा इरानसँग सम्बन्धित ह्याकरहरूको संलग्नता हुन सक्ने आशंका गरेका छन् । यद्यपि आक्रमणबाट ठूलो क्षति भने नभएको बताइएको छ । सिएनएनको रिपोर्टअनुसार ह्याकरहरूले अटोमेटिक ट्यांक गेज प्रणालीलाई निशाना बनाएका थिए। यी प्रणाली ग्यास स्टेशनका इन्धन ट्यांकमा रहेको तेलको मात्रा निगरानी गर्न प्रयोग गरिन्छ । रिपोर्टमा धेरै प्रणाली इन्टरनेटमा पासवर्ड सुरक्षाबिनै खुला अवस्थामा रहेको र त्यसैको फाइदा उठाएर ह्याकरहरू प्रवेश गर्न सफल भएको उल्लेख गरिएको छ । केही घटनामा ह्याकरहरूले डिस्प्लेमा देखिने विवरण परिवर्तन गर्न सफल भए पनि वास्तविक इन्धनको मात्रा भने प्रभावित नभएको बताइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म यसबाट कुनै भौतिक क्षति नभए पनि यदि ग्यास चुहावटजस्ता समस्या लुकाइयो भने ठूलो जोखिम उत्पन्न हुन सक्ने चिन्ता बढेको छ। अधिकारीहरूले इरानले यसअघि पनि अमेरिका भित्रका ग्यास तथा पानीसँग सम्बन्धित प्रणालीहरूलाई निशाना बनाएको भन्दै इरान मुख्य शंकाको घेरामा रहेको बताएका छन् । तर अनुसन्धान निकायहरूले पर्याप्त डिजिटल प्रमाण नपुगेकाले जिम्मेवार पक्षको पहिचान निश्चित रूपमा गर्न कठिन हुन सक्ने जनाएका छन् । रिपोर्टमा अमेरिका–इजरायल र इरानबीचको तनाव र युद्धको अवस्थाबीच इरान समर्थित साइबर आक्रमणहरू बढ्दै गएको उल्लेख गरिएको छ । यसअघि पनि इरानसँग सम्बन्धित ह्याकरहरूमाथि अमेरिकी तेल तथा ग्यास साइट, पानी आपूर्ति प्रणाली, मेडिकल उपकरण कम्पनी स्ट्राइकर तथा एफबीआई निर्देशक काश पटेलको इमेल ह्याक गरेको आरोप लाग्दै आएको छ ।
९- काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ् सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र अभिभावक बिच त्रिपक्षीय सम्झौता गरेर बालबालिकाका लागि कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो । सम्झौतामा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, विद्यालयका तर्फबाट प्रधानाध्यापक र विद्यार्थीका तर्फबाट अभिभावकले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि विद्यालयका अधिकारीहरुले विद्यार्थी र अभिभावकसँग परामर्श गर्नुभएको थियो । विद्यार्थीहरुको निःशुल्क आवासीय अध्ययनका विषयमा बैठकले विभिन्न ४ प्रस्तावमा निर्णय गरेको छ । विद्यार्थीहरु आउँदो आइतबारदेखि विद्यालय जानेछन् । राधा स्वामी होल्डिङ् सेन्टरमा ६१ जना बालबालिकाको नाम दर्ता भएको छ ।
शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन् । प्याब्सन अन्तर्गतका १० वटा विद्यालयसँग सम्झौता गरिएको छ । प्याब्सनका जिल्ला अध्यक्ष नवराज भट्टका अनुसार सम्झौता गरिएका विद्यालयहरु एन्जल हर्ट स्कूल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कूल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेशनल स्कूल पेप्सीकोला, इनोभेटिभ स्कूल शंखमुल, हेम्स स्कूल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कूल जोरपाटी र सुप्रिम इन्टरनेशनल स्कूल चावहिल हुन् । एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयसँग सम्झौता भएको छ । एनप्याब्सन महानगर समिति अध्यक्ष नवराज पाण्डेका अनुसार प्रोग्रेसिभ सेकेण्डरी स्कूल चावहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेशनल आइडल बोर्डिङ स्कूल मन्डिकाटारसँग सम्झौता भएको हो । विद्यार्थीको अध्ययन निरन्तरताका लागि काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नेछ । विद्यार्थीका लागि आवश्यक पर्ने विद्यालयले तोकेको पोशाक, झोला, स्तेशनरी तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।
१०- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् । पाकिस्तानी मिडियाका अनुसार अलिमा खानले इमरान खानलाई अदियाला जेलमा लामो समयदेखि एक्लै राखिएको भन्दै त्यसलाई चुनौती दिएकी हुन् । उनले यसलाई गैरकानुनी र आधारभूत मानव अधिकारको उल्लङ्घन भएको दाबी गरेकी छन् । पाकिस्तानको डन अखबारका अनुसार उनले यो निवेदन बिहीबार उच्च अदालतमा दर्ता गरेकी हुन् । निवेदनमा ७४ वर्षीय इमरान खानलाई एक्लै राख्ने कुनै पनि अदालतले सजाय नदिएको उल्लेख गरिएको छ ।
चाहे त्यो अल-कादिर ट्रस्ट मुद्दा होस् वा तोशाखाना मुद्दा, कुनै पनि फैसलामा एकान्त कारावासको आदेश नभएको दाबी गरिएको छ । इमरान खान २०२३ अगस्ट ५ देखि लगातार जेलमा रहेका छन्। उनलाई सुरुमा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो । त्यसयता उनी रावलपिन्डीस्थित अदियाला जेलमा सजाय भोगिरहेका छन् ।
११- काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूमा प्रहरीले कारबाही गरेको छ । कार्यालयमा प्राप्त उजुरी, गुनासो र निवेदनका आधारमा यस्ता केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै नेपाली नागरिकहरूबाट ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा ती परामर्श केन्द्रहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड र प्रक्रिया पूरा नगरेको पाइएको छ । साथै, दर्ता तथा नवीकरण नगरी र इजाजतबिनै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गर्दै आएको पनि खुलेको छ । यही आधारमा शुक्रबार गरिएको कारबाही क्रममा उपत्यकाभरका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा प्रहरी टोली परिचालन गरिएको थियो । सो क्रममा ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ । कार्यालयले यस्ता शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका नेपाली नागरिकहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सैन्य कारबाहीमा अमेरिकी सेनाले नाइजेरियामा इस्लामिक स्टेटको दोस्रो सबैभन्दा ठूलो विश्वव्यापी कमान्डर मानिने अबू-बिलाल अल मिनुकीलाई मार्न सफल भएको जानकारी दिएका छन् । उनी इस्लामिक स्टेटको विश्वव्यापी संरचनामा अत्यन्त उच्च तहका नेता मानिन्थे । ट्रम्पले यो जानकारी दिदै उक्त कारबाही निकै जटिल र राम्रो योजना बनाएर गरिएको मिसन भएको बताएका छन् । उनका अनुसार अमेरिकी सेना र नाइजेरियाली सुरक्षा बलले संयुक्त रूपमा अत्यन्त सटीकताका साथ यो अपरेसन सम्पन्न गरेका हुन् । ट्रम्पले अल-मिनुकीलाई विश्वकै सबैभन्दा सक्रिय आतङ्ककारीमध्ये एक भन्दै टिप्पणी गरेका छन् । ट्रम्पले अल मिनुकीलाई आफू अफ्रिकामा लुकेर सुरक्षित रहन सक्छु भन्ने भ्रम रहेको तर अमेरिकी निकायसँग उनको गतिविधिबारे निरन्तर सूचना आउने स्रोतहरू सक्रिय रहेको उनले दाबी गरे ।
ट्रम्पले यो सफलतापछि खुसी व्यक्त गर्दै अब उक्त आतङ्ककारीले अफ्रिकाका नागरिकलाई त्रसित बनाउन नसक्ने र अमेरिकाविरुद्ध आक्रमणको योजना पनि बनाउन नपाउने बताएका छन् । उनका अनुसार यस कारबाहीले इस्लामिक स्टेटको विश्वव्यापी सञ्जाल कमजोर बनाउनेछ। उनले सहयोगका लागि नाइजेरिया सरकारप्रति पनि आभार व्यक्त गरेका छन् । अबू बिलाल अल मिनुकीलाई अबू बक्र इब्र मुहम्मद इब्र अली अल मैनुकी भनेर पनि चिनिन्थ्यो । उनी मुख्य रूपमा अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय थिए । यो क्षेत्र अटलान्टिक महासागरदेखि लाल सागरसम्म करिब ५ हजार ९ सय किलोमिटर फैलिएको छ । यसमा सेनेगल, मोरिटानिया, माली, बुर्किना फासो, नाइजर, नाइजेरिया, चाड र सुडानजस्ता देशहरू पर्छन्। यसको प्रभाव गाम्बिया, गिनी, क्यामरुन र इरिट्रियासम्म पनि फैलिएको मानिन्छ ।
अल मिनुकी इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका वरिष्ठ कमान्डर थिए । उनी इस्लामिक स्टेटको लेक चाड क्षेत्रीय एकाइका अपरेसनहरूको नेतृत्व गर्थे । साथै उनी आतङ्ककारी सञ्जाललाई आर्थिक सहयोग र निर्देशन पुर्याउने काममा पनि संलग्न थिए । उनका गतिविधि अत्यन्त खतरनाक मान्दै सन् २०२३ जुनमा अमेरिकी विदेश मन्त्रालयले उनलाई विशेष रूपमा चिन्हित विश्वव्यापी आतङ्ककारीको सूचीमा राखेको थियो । ट्रम्पले उक्त कारबाहीमा संलग्न सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै यसलाई विश्व सुरक्षाका लागि ठूलो राहत भएको बताएका छन् ।
१३- पाकिस्तानले बङ्गलादेशसँगको पहिलो टेस्टमा स्लो ओभर रेटका कारण वर्ल्ड टेस्ट च्याम्पियनसिपमा आठ अंक गुमाएको छ । ढाकामा भएको उक्त खेलमा पाकिस्तान आठ ओभर लक्ष्यभन्दा पछाडि परेको पाइएको थियो । खेलमा पाकिस्तान १०४ रनले पराजित भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको आचारसंहिताको धारा २.२२ अनुसार पाकिस्तानमाथि कारबाही गरिएको हो । यसअनुसार प्रत्येक ओभर ढिलो भएबापत टोलीलाई एक अंक काटिन्छ र खेलाडीलाई प्रत्येक ओभरका लागि पाँच प्रतिशत म्याच शुल्क जरिवाना लाग्छ । अंक कटौतीपछि पाकिस्तान वर्ल्ड टेस्ट च्याम्पियनसिपको अंकतालिकामा एक स्थान तल झरेर आठौँ स्थानमा पुगेको छ । उसको कुल चार अंक रहेको छ । समान चार अंक भए पनि वेस्ट इन्डिज नवौँ स्थानमा छ, जसको अंक प्रतिशत ४.१७ मात्र रहेको छ भने पाकिस्तानको ११.११ प्रतिशत छ ।
यस नतिजापछि इंग्ल्यान्ड एक स्थान माथि उक्लिएको छ । तर ढाकामा बङ्गलादेशको जितसँगै उसले इंग्ल्यान्डलाई उछिन्दै छैटौँ स्थान हासिल गरेको छ । यो च्याम्पियनसिप चक्रमा स्लो ओभर रेटका कारण अंक काटिएको पाकिस्तान दोस्रो टोली हो । यसअघि जुलाईमा लर्ड्समा भारतसँगको टेस्टपछि इंग्ल्यान्डको दुई अंक काटिएको थियो । त्यसपछि इंग्ल्यान्डको अंक २४ बाट २२ मा झरेको थियो र अंक प्रतिशत ६६.६७ बाट ६१.११ मा घट्दै तेस्रो स्थानबाट चौथो स्थानमा झरेको थियो । हाल वर्ल्ड टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । उसले आठ खेलमध्ये सात जित निकाल्दै ८७.५० प्रतिशत अंक हासिल गरेको छ । दोस्रो स्थानमा न्युजील्यान्ड छ, जसको ७७.७८ प्रतिशत अंक छ । तेस्रो स्थानमा दक्षिण अफ्रिका ७५.०० प्रतिशत, चौथोमा श्रीलङ्का ६६.६७ प्रतिशत र पाँचौँमा भारत ४८.१५ प्रतिशत अंकसहित छन् ।
१४- नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा समृद्ध नेपालको आधार निर्माण गर्ने लक्ष्यसहित विभिन्न पूर्वाधार तथा विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो । सडक पूर्वाधार विकास, सिँचाइ सुविधामार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था तथा सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा महत्वपूर्ण मानिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको हो । हाल यस्ता आयोजनाको संख्या बढेर २७ पुगेको छ । आर्थिक बर्ष २०८१/८२ को महालेखाको प्रतिवेदन अनुसार राष्ट्रिय योजना आयोगको विवरणअनुसार २७ राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ तथा ६९ करोड ७० लाख पुगेको छ ।
हालसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी ३ आयोजना सम्पन्न भएका छन् । यीबाहेक अन्य आयोजनामा हालसम्म ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको उल्लेख छ । २७ आयोजनामध्ये ५ आयोजनाले ८० प्रतिशत वा सोभन्दा बढी भौतिक प्रगति हासिल गरेका छन् भने ४ आयोजनाको प्रगति ५० देखि ८० प्रतिशतको बीचमा रहेको छ । त्यस्तै ९ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । ४ आयोजनाको भौतिक प्रगति खुलाइएको छैन भने २ आयोजना अझै सुरु नै भएका छैनन् । आर्थिक वर्ष २०७८/७९ भित्र सम्पन्न गर्नुपर्ने पशुपति क्षेत्र विकास कोषको आयोजनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छैन ।
साथै उक्त आयोजना कहिले सम्पन्न हुने भन्ने समयसीमासमेत तोकिएको छैन । अधिकांश आयोजनाले कार्यक्षेत्र विस्तार गर्दै जाने, तोकिएको समयमै निर्माण सम्पन्न गर्न नसक्ने र पटक–पटक म्याद थप गर्दै जाने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । सरकारले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न हुने गरी प्रभावकारी आयोजना व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । विवरणअनुसार सबैभन्दा कमजोर प्रगति भएका आयोजनामध्ये पूर्व–पश्चिम रेल तथा मदन भण्डारी राजमार्ग आयोजना प्रमुख छन् । यी आयोजनाको भौतिक प्रगति अझै उल्लेखनीय रूपमा अघि बढ्न सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ तथा बाँकी संरचना निर्माणको प्रगति करिब १२ प्रतिशत मात्रै पुगेको देखाइएको छ । त्यस्तै काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ४९ प्रतिशत पुगेको छ । बुढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका आयोजनामा पनि अपेक्षित गति देखिएको छैन । केही आयोजनाको खर्च बढ्दै गएको भए पनि निर्माण प्रगति भने कमजोर रहेको विवरणमा उल्लेख छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये केहीमा ८० प्रतिशतभन्दा बढी प्रगति भएको देखिए पनि धेरै आयोजना ५० प्रतिशतभन्दा तल छन् । कालीगण्डकी कोरिडोर (गैडाकोट कोरला सडक खण्ड) को ८२.४५ प्रतिशत काम सकिएको उल्लेख छ भने बबई सिचाई योजनाको ८२.२७ प्रतिशत प्रगति रहेको छ । त्यस्तै लुम्बिनी विकास कोषको ८९ प्रतिशत, हुलाकी लोक्मर्ग आयोजना ७२.७५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । कतिपय आयोजनाको निर्माण अवधि पटक–पटक थपिएको छ भने केही आयोजना अझै सुरु नै हुन सकेका छैनन् । विवरणमा अधिकांश आयोजनामा लागत वृद्धि, ढिलो निर्माण, कमजोर व्यवस्थापन तथा समयमै काम सम्पन्न हुन नसक्ने समस्या दोहोरिएको उल्लेख गरिएको छ ।
१५- निरुता ठगुन्नालाई नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान बनाइएको छ । नेपाल भलिबल सङ्घले निरुतालाई नयाँ कप्तानमा नियुक्त गरिएको जानकारी दिएको हो । निरुता महिला भलिबल टिममा नियुक्त भएकी छैटौँ कप्तान हुन् । नेपाली महिला भलिबल टिममा यसअघि अरुणा शाही कप्तान रहेकी थिइन् । उनी अस्ट्रेलिया गएपछि निरुतालाई नियुक्त बनाइएको हो । निरुताले सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको रुपमा निरुताले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
१६- अखिल नेपाल फुटबल संघ (एन्फा) भारतको गोवामा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । एन्फाले अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली महिला टिमको प्रशिक्षकमा नविन न्यौपाने रहेका छन् । सावित्रा भण्डारी साम्बाले भने इन्जुरिका कारण यो प्रतियोगिता गुमाउने भएकी छन् । उनी आफ्नो इन्जुरीको उपचारका लागि हाल कतारमा रहेकी छन् । नेपाली टिममा गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरहरुमा पूजा राना, गीता राना, विमला बि.के., हिरा कुमारी भुजेल, प्रतिश्या चौधरी, समीक्षा घिमिरे, निशा ठोकर र सबिना चौधरी रहेका छन् ।
मिडफिल्डरहरुमा रेणुका नगरकोटी, दिपा शाही, प्रीति राई, सारु लिम्बु, बिर्शना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसी रहेका छन् । त्यसैगरी फरवार्डमा रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा रहेका छन् । साफ महिला च्याम्पियनसिप प्रतियोगिता जेठ ११ देखि जेठ २३ गतेसम्म भारतको गोवास्थित फतोरदा रंगशालामा सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालसहित भुटान, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशले भाग लिएका छन् । समुह ए मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन् । प्रतियोगिताको पहिलो खेल जेठ ११ गते समुह ए मा रहेको नेपालले भुटानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
१७- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । बैठक सोमबार बस्ने गरी तय भएको अधिकारीले जानकारी दिएका छन् । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्वपूर्ण निर्णय हुने बताइएको छ ।
१८- अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच जारी युद्धविरामलाई थप ४५ दिनका लागि लम्ब्याइएको छ । अमेरिकी विदेश विभागका अनुसार दुई दिनसम्म चलेको वार्तापछि दुवै देश यसमा सहमत भएका हुन् । अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगोटले इजरायल र लेबनानबीच राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु हुने जानकारी दिएका छन् । उनले मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताएका छन् । पिगोटका अनुसार यी वार्ताको मुख्य उद्देश्य स्थायी शान्तितर्फ अघि बढ्नु रहेको बताएका छन् ।
साथै दुवै देशको सार्वभौमिकता र सीमाको सम्मान सुनिश्चित गर्ने तथा साझा सीमामा सुरक्षा व्यवस्था थप मजबुत बनाउने विषयमा पनि जोड दिइनेछ । इजरायल–लेबनान सीमामा पछिल्ला केही महिनादेखि तनाव कायम छ । गाजा युद्धपछि हिजबुल्लाह र इजरायलबीच लगातार आक्रमण र जवाफी कारबाही हुँदै आएका छन् । यसअघि पनि युद्धविरामकै विचमा इजरायलले लेबनानमाथि लगातार आक्रमण भने गरिरहेको छ ।
१९- एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ । गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एस्टन भिल्लाको जितमा ओली वाटकिन्सले २ गोल गरे भने मोर्गन रोजर्स र जोन म्याकगिनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल भिर्गिल भान डाइकले गरेका थिए । यो जितपछि एस्टन भिल्ल्लाको ३७ खेलमा ६२ अंक भएको छ र लिगमा चौठोस्थान्मा रहेको छ । त्यस्तै लिभरपुलको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
२०- लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए । त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए । यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ ।