काठमाडौं । प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।
कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।
प्रतिनिधिसभाको वैठकमा विपक्षीको विरोध र नाराबाजीबीच दुई वटा विधेयक स्वीकृत भएको छ । आजको प्रतिनिधिसभा वैठकमा विपक्षीको विरोधका वावजुद प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुखले बहुमतको आधारमा विधेयक स्वीकृत भएको घोषणा गरेका हुन् । विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री आउनु पर्ने अडान राखेका थिए ।

बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ ।
