काठमाडौं । काठमाडौं महानगरपालिका–१, नक्सालमा सञ्चालन भइरहेको एक कार्यालयबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको फुजियान प्रान्तका ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन सुआङगुई छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ त्यहाँस्थित आरआर बिल्डिङमा सञ्चालित ‘एन्ड्रो टेक्नोलोजी’ नामक कार्यालयमा छापा मारेको थियो ।
प्रहरीले उक्त कार्यालयबाट विदेशी मोडल तथा युवतीहरूको प्रयोग गरी ‘लाइभ हब एप’ मार्फत विभिन्न विदेशी तथा भारतीय नागरिकसँग सम्पर्क स्थापित गर्ने, खुकुलो सम्बन्ध बनाइ आर्थिक लाभ लिने तथा अन्य शंकास्पद गतिविधि सञ्चालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान काठमाडौं पठाइएको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
