धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस दलको नेताबाट हटाउन सक्रिय पक्षले विवाद समाधानका लागि नयाँ प्रस्ताव अघि सारेको छ ।
विवाद निरूपणका लागि धनगढीमा दुवै पक्षसँग छलफल गरिररहेका कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको टोलीलाई कांग्रेसले अहिले प्रतिनिधित्व गरिरहेका मध्ये दुई मन्त्रालय दिनुपर्ने प्रस्ताव गरिएको छ ।
स्रोतका अनुसार उक्त पक्षले आर्थिक मामिला मन्त्रालयलाई अनिवार्य सर्तका रूपमा अघि सारेको छ ।’सहमहामन्त्रीसहितको उपस्थितिमा भएको छलफलमा उहाँहरूले दुई मन्त्री र दुई राज्यमन्त्री दिनुपर्ने माग प्रस्ताव गर्नुभएको छ‘, छलफलमा सहभागी एक नेताले भने, ‘आर्थिक मामिला मन्त्रालय अनिवार्य पाउनुपर्ने उहाँहरूको अडान छ ।झ
यो प्रस्तावमा छलफल जारी रहेको ती नेताले बताए ।
यस्तै, सरकारको नेतृत्व एमाले वा अन्य दलले लिने अवस्थामा सांसद दिवान सिंह विष्टलाई संसदीय दको नेता बनाउनुपर्ने, बाँकी कार्यकालमा ६ महिनापछि मन्त्री हेरफेर गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाह विष्ट पक्षले गरेको प्रस्तावमा सकारात्मक भएपनि आर्थिक मामिला मन्त्रालय दिने पक्षमा भने छैनन् । सोही कारण विवाद सुल्झिन बाँकी छ ।

मुख्यमन्त्री निकट एक सांसदले अर्थ मन्त्रालयमा अर्को पक्षको मुख्य दाबी भएको बताउँदै त्यसबारे थप छलफल भइरहेको बताए ।

शाहलाई दलको नेताबाट हटाउन कांग्रेसका दिवानसिंह विष्टसहितका ९ जनाले हस्ताक्षर गर्दै दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि अविश्वासको प्रस्ताव कमजोर भएको थियो ।

कांग्रेस केन्द्रीय समितिले सहमहामन्त्री राणा र केन्द्रीय सदस्य राजन केसीलाई धनगढी पठाएको छ । उनीहरूले शुक्रबार दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए । दुई पक्षका मध्यमार्गी सांसद बाहेक दुवै पक्ष एकैठाउँमा छलफलमा भने बस्न बाँकी छ ।
प्रदेश सरकारमा अहिले कांग्रेसका मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री गरेर पाँच जनाको प्रतिनिधित्व छ ।