काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न प्रत्यक्ष वार्तामा बस्न खुला आह्वान गरेका छन् ।
रुसको सेन्ट पिटर्सबर्गमा अन्तर्राष्ट्रिय आर्थिक मञ्च चलिरहेका बेला जेलेन्स्कीले खुला पत्र सार्वजनिक गर्दै युद्ध अन्त्यका लागि आफू र पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
रुसका अरबपति व्यवसायी, राजनीतिक दलका शीर्ष नेताहरू र अन्तर्राष्ट्रिय निर्णयकर्ताहरूको सहभागिता रहेको सेन्ट पिटर्सबर्ग आर्थिक मञ्चमा यस पटक रुसको अर्थतन्त्र र युद्धका कारण उत्पन्न चुनौतीहरूको विषयमा बहस भएका छन् । यो कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी छन् ।
रुसको सबैभन्दा ठूलो बैङ्कका प्रमुख जर्मन ग्रेफले हालको परिस्थितिमा आर्थिक वृद्धि कायम रहनु नै चमत्कार भएको टिप्पणी गरेका छन् । अन्य अर्थ जानकारहरुले पनि युद्ध लामो समयसम्म निरन्तर चलिरहँदा रुसको अर्थतन्त्र, श्रम शक्ति र विकासमा गम्भीर दबाब परेको बताएका छन् ।
यही परिस्थितिबिच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसभित्र बढ्दो आर्थिक तथा राजनीतिक दबाबलाई शान्ति प्रक्रियामा सदुपयोग गर्न खोजेको बताइएको छ । उनले तेस्रो मुलुकमा भेटवार्ता गर्न सकिने उल्लेख गर्दै त्यस अघि पूर्ण युद्ध विराम लागू हुनुपर्ने अडान राखेका छन् ।

पत्रमा जेलेन्स्कीले लेखेका छन्, ‘साँचो शान्तिको सुरूआत बन्दुकको आवाज रोकिनुबाट हुन्छ । त्यसपछि मात्र सार्थक संवाद सम्भव हुन्छ । युद्धले दुवै देशका नागरिकलाई पीडा दिएको छ, त्यसैले अब समाधानका लागि प्रत्यक्ष संवाद आवश्यक छ ।’

रुसी राष्ट्रपति कार्यालयले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गरेको छ । रुसले वार्ताको सम्भावनालाई सकारात्मक रूपमा लिएको जनाए पनि त्यसका लागि जेलेन्स्की मस्को आउनुपर्ने सर्त अघि सारेको छ ।

तर, जेलेन्स्कीले मस्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । युक्रेनी सुरक्षा निकायहरूले विगतमा रुसी पक्षबाट आफूलाई लक्षित गरी हत्या प्रयासहरू भएको दाबी गर्दै आएका कारण मस्को भ्रमण सुरक्षित नहुने जवाफ जेलेन्स्कीले दिएका छन् ।
युद्धका क्रममा पछिल्लो समय युक्रेनले रुसी भूभागभित्र गहिरो सम्म आक्रमण गर्ने क्षमता विस्तार गरेको बताइएको छ । ऊर्जा पूर्वाधार तथा रणनीतिक महत्वका संरचनामाथि भएका आक्रमणहरूले रुसमाथि थप दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ । सेन्ट पिटर्सबर्ग आर्थिक मञ्च सुरू भएकै समयमा युक्रेनले सो क्षेत्र आसपास पनि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसैबीच सेन्ट पिटर्सबर्ग आर्थिक मञ्चमा बोल्दै पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका शान्ति प्रस्तावहरू युद्ध अन्त्यका लागि आधार बन्न सक्ने बताएका छन् । उनले दुवै पक्षले केही सम्झौता गर्न सके समाधान सम्भव रहेको धारणा राखेका छन् ।
पुटिनले भने, ‘हामीले आवश्यक सम्झौताका विषयमा सामान्य सहमति बनाइसकेका छौँ । अब युक्रेनी पक्षलाई त्यसमा सहमत गराउन आवश्यक छ । यदि दुवै पक्षले केही सम्झौता गर्न सके समाधान सम्भव छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ को जनवरीमा पदभार ग्रहण गरेपछि रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । तर हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । बरु कतिपय अवसरमा ट्रम्पमाथि रुसप्रति नरम दृष्टिकोण अपनाएको आरोप लाग्दै आएको छ ।
यद्यपि, अमेरिकी संसद्को तल्लो सदनले हालै युक्रेनलाई अर्बौँ डलर बराबरको सहायता उपलब्ध गराउने तथा रुसमाथि थप कडा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । उक्त विधेयक माथिल्लो सदनबाट समेत पारित भएमा युक्रेन युद्धसम्बन्धी अमेरिकी नीतिमा नयाँ मोड आउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
चार वर्षदेखि जारी युद्धले दुवै देशमा ठूलो मानवीय, आर्थिक र राजनीतिक क्षति पुर्याइरहेका बेला जेलेन्स्कीको खुला पत्र र पुटिनको प्रतिक्रिया नयाँ कूटनीतिक पहलका रूपमा हेरिएको छ । तर युद्ध विराम, वार्ता स्थल र सुरक्षा प्रत्याभूतिका विषयमा अझै सहमति जुट्न नसकेकाले तत्काल शान्ति स्थापना हुने सम्भावना भने अनिश्चित देखिएको छ । सीएनएनको भावानुवाद