प्यूठान । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्यूठानको दरिमचौरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजनाको औपचारिक उद्घाटन गरेको छ।
यो परियोजना नेपालको स्वच्छ ऊर्जा भविष्यका लागि हरित हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। उक्त परियोजना बीपीसीद्वारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापना गरिएको हो।
नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने यो परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) मार्फत प्राप्त आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रतिनिधि, प्यूठान जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, एफसीडीओ, विश्व बैंक, जिल्ला प्रशासनका अधिकारी, नेपाल विद्युत् प्राधिकरण, बीपीसी तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा न्यून कार्बन उत्सर्जनयुक्त ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा लिइन्छ। नवीकरणीय स्रोतबाट प्राप्त विद्युत्को प्रयोग गरी पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ।

यसरी उत्पादन गरिएको हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ।

बीपीसीको पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय (अल्कलाइन) इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्छ। उत्पादित हाइड्रोजनलाई १५० बार दबाबमा सिलिन्डरमा भण्डारण गरिनेछ, जसबाट विभिन्न सम्भावित प्रयोगहरूको परीक्षण तथा मूल्याङ्कन गर्न सकिनेछ।

परियोजनाको इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ठेकेदार चीनको सीपीयू हाइड्रोजन पावर टेक्नोलोजी कम्पनी लिमिटेड रहेको छ। यो प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा ल्याइएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको थियो।
बीपीसीका अनुसार यो परियोजनाले नवीकरणीय ऊर्जा क्षेत्रमा नवप्रवर्तन तथा उदीयमान स्वच्छ ऊर्जा प्रविधिको व्यावहारिक परीक्षणप्रति कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। यस परियोजनाबाट हाइड्रोजन उत्पादन, सङ्कुचन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन तथा आर्थिक व्यवहार्यतासम्बन्धी महत्वपूर्ण अनुभव र सिकाइ प्राप्त हुने अपेक्षा गरिएको छ।
नेपालले दीर्घकालीन ऊर्जा रणनीतिमा हरित हाइड्रोजनको सम्भावित भूमिकाको मूल्याङ्कन गरिरहेको सन्दर्भमा यो परियोजना महत्वपूर्ण मानिएको छ। प्रचुर जलविद्युत् सम्भावना भएको नेपालले अतिरिक्त नवीकरणीय विद्युत्लाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु उपयोग, औद्योगिक प्रयोजन, यातायात, ऊर्जा भण्डारण तथा सम्भावित क्षेत्रीय बजारमा उपयोग गर्न सक्ने सम्भावना रहेको छ।
नेपाल सरकारले समेत हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना बनाएको छ, जसले यस क्षेत्रमा देशको बढ्दो चासोलाई थप पुष्टि गर्दछ।
बीपीसीका लागि यो परियोजना नेपालको ऊर्जा प्रणालीमा हरित हाइड्रोजनको सम्भावित भूमिकालाई व्यवहारिक रूपमा बुझ्ने महत्वपूर्ण प्रारम्भिक कदम हो। यसबाट प्राप्त अनुभव तथा सिकाइले भविष्यमा परियोजनाको विस्तार, व्यावसायिक सम्भाव्यता, सुरक्षा मापदण्ड, नियामकीय व्यवस्था तथा नेपालको स्वच्छ ऊर्जा मिश्रणमा हाइड्रोजनको एकीकरणसम्बन्धी नीतिगत तथा व्यावसायिक निर्णयहरूमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
बुटवल पावर कम्पनी लिमिटेड नेपालका अग्रणी निजी ऊर्जा कम्पनीहरूमध्ये एक हो। कम्पनीले नवीकरणीय ऊर्जाको विकास, उत्पादन, प्रसारण तथा वितरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
जलविद्युत् विकास तथा ऊर्जा नवप्रवर्तन क्षेत्रमा करिब छ दशकको अनुभव बोकेको बीपीसीले भरपर्दो, स्वच्छ तथा दिगो ऊर्जा समाधानमार्फत नेपालको ऊर्जा भविष्य निर्माणमा निरन्तर योगदान पुर्याउँदै आएको छ।