काठमाडौँ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइँदै छ । यसबर्षको यो दिवस ‘बाल श्रमलाई रातो कार्ड: बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कहरूका लागि मर्यादित काम ।’ भन्ने नारासहित मनाइँदैछ ।
बालश्रमविरुद्ध सरकार र निजी क्षेत्रबाट बालबालिकाका क्षेत्रमा थुप्रै काम भएका छन् । तर, अपेक्षितरुपमा बालश्रम न्यूनीकरण हुन सकिरहेको छैन । सडक बालबालिका, बाल मजदुर, होटल तथा रेस्टुरेन्टका बालश्रमिक र सवारी साधनमा काम गर्ने बालबालिकाका दुःख, पीडा र यातना कमी आउन सकेको छैन ।
बालबालिकालाई शारीरिक र मानसिक असर पर्नेगरी दवाबमा कुनै पनि काम लगाउनु हुँदैन भनिए पनि व्यावहारिक रुपमा त्यो लागू हुन सकिरहेको छैन । बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाई रहँदा नेपालमा भने यो दिवसको औचित्य कति छ भन्ने प्रश्न खडा भएको छ ।
बालअधिकार र हकको विषयमा अनगिन्ती राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाइएका छन् । बालबालिकाको अधिकारमा कयौं वकालत, सभा सम्मेलन गरिए । तर बालअधिकार र उनीहरुको अवस्था जहाँ थियो त्यहि नै छ ।
बालअधिकारका मुद्दालाई अघि सारेर सरकारी र गैह्रसरकारी रकममा रमाउने अधिकारकर्मीहरु पनि कमी छैनन् यहाँ । दिवस मनाई रँहदा लाखौँको संख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका छन् ।

बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा विरुद्धमा कसैले काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन ।
