काठमाडौं । विभिन्न सातबुँदे माग राख्दै प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिकित्सकहरूले ‘जेन–जी सरकार, जेन–जी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारी चिकित्सकहरूले श्रम अधिकार, तलब–सुविधा, अध्ययन व्यवस्था तथा कार्यस्थलको वातावरण सुधार गर्न माग गरेका छन् । हाल प्रशिक्षार्थी चिकित्सकमाथि अत्यधिक कार्यबोझ र श्रम शोषण भइरहेको आरोप लगाउँदै श्रम ऐनअनुसार कार्यसमय निर्धारण गर्न उनीहरूले माग गरेका छन् ।
उनीहरूले इन्टर्न तथा आवासीय चिकित्सकको ड्युटी समय प्रतिदिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा सातामा कम्तीमा एक दिन अनिवार्य बिदाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
यस्तै, महिला प्रशिक्षार्थी चिकित्सकलाई कानुनबमोजिम तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउनुपर्ने, सुत्केरीपछि अध्ययन तथा प्रशिक्षणलाई निरन्तरता दिन पाउनुपर्ने र करार तथा स्थायी सबै महिला स्वास्थ्यकर्मीलाई समान रूपमा प्रसूति बिदा दिनुपर्ने माग राखिएको छ ।