काठमाडौं । नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यबाट विगत १७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको कर्पोरेट बिजनेश अवार्डको १८औँ संस्करण आज काठमाडौंमा हुँदैछ ।
‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०६’ अन्तर्गत यो वर्ष पाँचवटा बिधामा विधिन्न क्षेत्रका कूल २९ जना लब्धप्रतिष्ठित व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिने आयोजक कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जल जंग शाहले जानकारी दिए । सङ्घीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको विशेष आतिथ्यतामा आज आयोजना हुने विशेष समारोहमार्फत अवार्ड प्रदान गर्न लागिएको हो ।
कम्पनी, अटोमोटिभ, हेल्थ इन्स्टिच्युट, हाइड्रोपावर, इन्डस्ट्री, फेशन एन्ड ब्युटी इन्स्टिच्युट, लाइफ इन्स्योरेन्स, नन लाइफ इन्स्योरेन्स, अटो स्पेयर पाट्र्स, वुमन इन्टरप्रेनर, इन्भेस्टमेन्ट बैङ्किङ लगायतका विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे छलफल समेत गरिने छ । कार्यक्रममा सङ्घीय सांसदहरू, अर्थशास्त्री, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहनेछ ।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । निजी क्षेत्रको मनोबल बढाउने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्न र मुलुकको आर्थिक विकासमा योगदान दिने व्यक्ति तथा संस्थाको पहिचान र सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिँदै आएको हो ।
