काठमाडौं । कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वल जङ्ग पराक्रम शाहले नेपालमा निजी क्षेत्रले खेलेको भूमिका विश्वमै उदाहरणीय रहेको बताएका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासमा निजी क्षेत्रले पुर्याएको योगदान दुर्लभ रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई राष्ट्रसेवकका रूपमा सम्मान गर्नुपर्ने धारणा राखेका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ को १८औँ संस्करणलाई सम्बोधन गर्दै शाहले उद्योगी व्यवसायीहरू राष्ट्रको आर्थिक विकासका लागि दिनरात खटिरहेको बताए । उनले निजी क्षेत्रलाई राज्यको विकास साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिए ।
शाहले विगत तीन दशकदेखि दोहोरिँदै आएको आर्थिक तथा राजनीतिक दुश्चक्र अन्त्य गर्ने लक्ष्यसहित नयाँ सरकार गठन भएको उल्लेख गर्दै सरकारप्रति आमनागरिकको ठूलो अपेक्षा रहेको बताए । अहिले पनि मुलुकले अपेक्षित गति लिन नसके जनतामा थप निराशा बढ्ने भन्दै उनले सरकारलाई सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे ।
उनले मुलुकको आर्थिक विकासका लागि सुशासन नै सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई विभिन्न २९ विधामा सम्मान गरिएको थियो ।

अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, संघीय सांसद, अर्थशास्त्री, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ । निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, सफल व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा मुलुकको आर्थिक विकासमा योगदान दिने व्यक्ति र संस्थाको पहिचान र सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना हुँदै आएको आयोजकले जनाएको छ ।