काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुन: मान्यता प्राप्त गरेको छ ।
कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्दै नेपालमै हालसम्म यस्तो मान्यता प्राप्त गर्ने एक मात्र शैक्षिक संस्थाको हैसियत कायम राखेको जनाएको छ ।
कलेजका अनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ । मान्यता नवीकरणका क्रममा बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षको मूल्यांकन गरेको थियो ।
सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च तथा थप शिक्षण संस्थाहरूको गुणस्तर मूल्यांकन गर्ने प्रतिष्ठित निकायका रूपमा परिचित छ । बीएसीको मान्यतालाई शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय सूचक मानिन्छ ।
उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्यांकन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले पुन: मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए । उनका अनुसार यस उपलब्धिले विद्यार्थी र अभिभावकमा कलेजप्रतिको विश्वास थप बलियो बनाउनेछ ।

यस्तै, द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेसन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेजका रूपमा यो उपलब्धि गौरवको विषय भएको बताए । उनले अन्तर्राष्ट्रिय असल अभ्यासहरू अवलम्बन गर्दै नेपालको उच्च शिक्षाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

बीएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले बिएसीको मान्यताले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनजस्ता क्षेत्रमा संस्थाले स्वतन्त्र मूल्यांकन सफलतापूर्वक पार गरेको पुष्टि गरिन् । उनले सन् २०२१ देखि बिएसी मान्यता प्राप्त द ब्रिटिस कलेजलाई पुन: मान्यता प्राप्त गरेकोमा बधाईसमेत दिएकी छन् ।
द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । साथै, उद्योग क्षेत्रसँगको सहकार्य र विद्यार्थीको करिअर विकासमा केन्द्रित अभ्यासमार्फत आफ्नो पहिचान स्थापित गरेको कलेजले जनाएको छ ।
कलेजका अनुसार हालै केही समूहबाट फैलाइएका भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बावजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रक्रियाबाट पुन: मान्यता प्राप्त गर्न सफल भएको हो । कलेजले उक्त उपलब्धिलाई अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड तथा संस्थागत व्यवस्थापन कायम रहेको स्वतन्त्र प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।