काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ । नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । सोही विषयलाई लिएर नेकपाको प्रदेश कमिटीले गिरीलाई स्पष्टीकरण सोधेको हो ।
प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’द्वारा सोधिएको स्पष्टीकरणमा गिरीले तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भए पनि संघीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको तथा पछिल्लो समय पार्टी अनुशासन उल्लघंन गर्दै रास्वपाको महाधिवेशन प्रतिनिधि बनेको उल्लेख छ ।
गिरी बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने गाउँसभामा पनि अनुपस्थित थिए ।
सो समयमा उनी रास्वपाको महाधिवेशनका लागि चितवनमा थिए । उनको अनुपस्थितिमा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष मिथुन गौतमले बजेट प्रस्तुत गरेका थिए ।