काठमाडौं । फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ग्ल्यान्ड र डीआर कङ्गो खेल्दैछन् । यो खेल राति पौने १० बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।
इङ्ग्ल्यान्ड समूह ‘एल’ को विजेता र कङ्गो समूह ‘के’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट पुगेका हुन् । ५ दशकपछि विश्वकपमा फर्किएको कङ्गो पहिलो पटक नकआउटमा पुगेको हो । इङ्ग्ल्यान्ड सन् १९६६ को विश्वकपको विजेता हो ।
फुटबल इतिहासमा इङ्ग्ल्यान्ड र कङ्गोबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने २ बजे बेल्जियम र सेनेगल खेल्दैछन् । यो खेल अमेरिकाको सिएटल रङ्गशालामा हुनेछ ।
बेल्जियम समूह ‘जी’ को विजेता र सेनेगल समूह ‘आई’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा बेल्जियम र सेनेगलबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ६ बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन् । यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा हुनेछ ।
अमेरिका समूह ‘डी’ को विजेता र बोस्निया समूह ‘बी’ बाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन् । अमेरिका र बोस्नियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीबीच ३ वटा मैत्रीपूर्ण खेल भएकोमा अमेरिकाले २ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ ।
यो विश्वकपमा नकआउट चरणका खेलमा अप्रत्याशित नतिजा आइरहेको छ । पाराग्वेले ४ पटकको विजेता जर्मनीलाई, मोरक्कोले नेदरल्यान्ड्सलाई हराएसँगै खेलको रोमाञ्चकता बढेको छ ।