काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका वित्तीय सेवाग्राहीको अनुभव, धारणा र सन्तुष्टिको अवस्था बुझ्न पहिलोपटक देशव्यापी वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने भएको छ।
सर्वेक्षणबाट प्राप्त नतिजाका आधारमा वित्तीय ग्राहक संरक्षण, सेवा प्रवाह र नियामकीय व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्य केन्द्रीय बैंकको छ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षण ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित सबै प्रकारका स्थानीय तह समेटिने छन्। ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी देशभरबाट कुल १० हजार ४ सय ५ जना उत्तरदाताबाट नमुना संकलन गरिने केन्द्रीय बैंकले जनाएको छ।
सर्वेक्षणमार्फत बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने सेवामा ग्राहकको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो सुनुवाइ प्रणाली, वित्तीय ग्राहक संरक्षणको अवस्था तथा समग्र वित्तीय सेवाप्रति सेवाग्राहीको धारणा र अनुभव संकलन गरिनेछ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त निष्कर्षले वित्तीय क्षेत्रसँग सम्बन्धित नीति निर्माण, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा नियामकीय व्यवस्थामा आवश्यक सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ। साथै वित्तीय सेवाको गुणस्तर अभिवृद्धि र सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत यसले सहयोग पुग्ने विश्वास केन्द्रीय बैंकले लिएको छ।

केन्द्रीय बैंकले सर्वेक्षणमा सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुने स्पष्ट गरेको छ। सहभागीले आफूलाई असहज लागेका प्रश्नको उत्तर दिनुपर्ने बाध्यता रहने छैन। सर्वेक्षणका क्रममा संकलन गरिने सबै विवरण तथा व्यक्तिगत जानकारी तथ्याङ्क ऐन, २०७९ बमोजिम गोप्य राखिने र ती विवरण केवल तथ्याङ्कीय तथा नीतिगत प्रयोजनका लागि मात्र प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ।