काठमाडौं । विना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरेर वा इन्धन बिक्री नगरी कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
संशोधित विनियमावलीअनुसार अब नियतवश इन्धनको अभाव गराउने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना गरिनुका साथै ५ देखि १५ दिनसम्म इन्धन आपूर्ति नै रोक्न सकिनेछ।
हालै इन्धनको मूल्य घट्ने अनुमान गर्दै केही व्यवसायीले निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाएपछि देशभर इन्धन आपूर्ति प्रभावित भएको थियो। त्यसपछि अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध सिर्जना गर्ने गतिविधि रोक्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनपछि निगमको सञ्चालक समितिले विनियमावली संशोधन गर्दै पेट्रोल पम्पको नोजल सुक्खा राखेर कृत्रिम अभाव सिर्जना गर्न नपाइने स्पष्ट व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गर्ने व्यवसायीलाई ३ लाख रुपैयाँ जरिबानासहित ५ दिनका लागि इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक पुनः उल्लंघन गरेमा ६ लाख रुपैयाँ जरिबाना र १० दिनसम्म आपूर्ति बन्द गरिनेछ। तेस्रो पटक पनि उही गल्ती दोहोरिए १० लाख रुपैयाँ जरिबानासहित १५ दिनसम्म इन्धन आपूर्ति पूर्ण रूपमा रोक्ने व्यवस्था गरिएको नेपाल आयल निगमले जनाएको छ।
सरकारले अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यो व्यवस्था प्रभावकारी हुने विश्वास गरेको छ।