काठमाडौं । अल्जेरियाका कप्तान रियाद महरेजले फिफा विश्वकप २०२६ बाट टोली बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
स्विट्जरल्यान्डसँग अन्तिम ३२ को चरणमा पराजित भएपछि उनले राष्ट्रिय टोलीका लागि उक्त खेल नै आफ्नो अन्तिम भएको बताएका हुन् ।
हारपछि प्रतिक्रिया दिँदै महरेजले टोलीको लक्ष्य अर्को चरणमा पुग्ने भए पनि आफ्नै गल्तीका कारण दुई गोल बेहोर्नुपर्दा ठूलो मूल्य चुकाउनुपरेको बताए । उनले उक्त खेल जित्न सकिने विश्वास भए पनि अवसर गुमेको स्वीकार गर्दै राष्ट्रिय टोलीसँगको आफ्नो यात्रा यहीँ समाप्त भएको बताए ।
फ्रान्समा जन्मिएका महरेजले सन् २०१३ मा अल्जेरियाबाट खेल्ने निर्णय गरेका थिए । सोही वर्ष उनले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए । सन् २०१४ को फिफा विश्वकपमा उनले अल्जेरियालाई अन्तिम १६ सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा ठूलो उपलब्धि सन् २०१९ को अफ्रिका राष्ट्रकपको उपाधि रह्यो । सेमिफाइनलमा नाइजेरियाविरुद्ध इन्जुरी समयमा गरेको आकर्षक फ्रि–किक गोल प्रतियोगिताकै सबैभन्दा सम्झनलायक क्षणमध्ये एक मानिन्छ । त्यसपछि अल्जेरियाले फाइनलमा सेनेगललाई हराउँदै करिब तीन दशकपछि महादेशीय उपाधि जितेको थियो ।
फिफा विश्वकप २०२६ पनि महरेजका लागि व्यक्तिगत रूपमा स्मरणीय रह्यो । उनले चार खेलमा तीन गोलमा प्रत्यक्ष योगदान दिए । अस्ट्रियाविरुद्ध दुई गोल गरे भने जोर्डनविरुद्ध एक गोलका लागि अवसर सिर्जना गरेका थिए । यससँगै उनी विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै गोलमा योगदान दिने अल्जेरियाली खेलाडी बने । साथै, विश्वकपको नकआउट चरणको खेल सुरु गर्ने दोस्रो सबैभन्दा पाका अफ्रिकी फुटबलरको कीर्तिमान पनि उनले बनाए ।

३५ वर्षीय महरेजले १२ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अल्जेरियाका लागि १२० खेल खेल्दै ४० गोल गरेका छन् । उनी देशका सबैभन्दा प्रभावशाली फुटबलरमध्ये एकका रूपमा परिचित छन् । सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने दोस्रो अल्जेरियाली खेलाडीका रूपमा उनले आफ्नो अन्तर्राष्ट्रिय यात्रा टुंग्याएका छन् ।