राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले सार्वजनिक गरेको विवरण अनुसार परीक्षामा सहभागी कुल १ लाख २९ हजार ११४ जना विद्यार्थीमध्ये ८३ हजार ५२३ जना अर्थात् ६४.६९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
सार्वजनिक नतिजाको जीपीए वर्गीकरण अनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ जना विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन्।
त्यस्तै, १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन्।
यसपटकको परीक्षामा ०.८० देखि १.२० र १.२० देखि १.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने शून्य रहेको बोर्डले जनाएको छ।
परीक्षार्थीहरूले आफ्नो नतिजा विभिन्न वेबसाइट, आईभीआर तथा एसएमएस र यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन् । सार्वजनिक नतिजामा चित्त नबुझेमा बोर्डले तोकेको अवधिभित्र अनलाइन माध्यमबाट पुनर्योगका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यसैबीच, परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा केन्द्राध्यक्षको सिफारिसका आधारमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ।