काठमाडौं । काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा (सिभिल) औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अस्पतालको फार्मेसी शाखाका कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँगको मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नगरी बिलभरपाइ मिलाएर भ्रष्टाचार गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
को–को प्रतिवादी
आयोगले जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गर्दै निम्न कर्मचारीहरूविरुद्ध मुद्दा दायर गरेको छ:
१. दीपा ढुङ्गाना: फार्मेसी युनिट इन्चार्ज/फार्मेसी अधिकृत
२. लवेन्द्र कुँवर: फार्मेसी सहायक
३. दिनेश पन्त: वरिष्ठ फार्मेसी सहायक
४. दीपक सापकोटा: फार्मेसी सहायक
५. विनोद पोखरेल: स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक
६. शर्मिला श्रेष्ठ: स्टोर किपर/वरिष्ठ फार्मेसी सहायक
७. केशव राज न्यौपाने: स्टोर किपर/फार्मेसी सहायक
८. सन्दीप तिवारी: स्टोर किपर/फार्मेसी सहायक
अख्तियारका अनुसार कर्मचारीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा औषधि भित्र्याएका थिएनन् । अस्पतालको स्टोर र भर्याङमुनि करोडौँ मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिएको, तर कम्प्युटरमा भने ती औषधिहरू स्टक देखाइएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा खरिद, बिक्री र बाँकी परिमाणको सन्तुलन परीक्षण (त्चबष् िद्यबबिलअभ) तयार नपारिएको र लेखापरीक्षणका क्रममा कैफियत औँल्याएको थियो । यस्तै, म्याद सकिन लागेका औषधि आपूर्तिकर्तालाई फिर्ता गरी सोधभर्ना लिनुपर्नेमा कर्मचारीहरूले उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएर सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आयोगकोभनाइ छ ।