पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि शोभा गौतमले उम्मेदवारी घोषणा गरेकी छन् ।
आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा वर्तमान महासचिव गौतमले अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् ।
संघको इतिहासमै पहिलो महिला महासचिव बनेकी गौतमले अनुभव, समावेशी नेतृत्व र संस्थागत विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन् ।
उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनले व्यवसायीहरूको हित, संस्थाको सुदृढीकरण, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उम्मेदवारी घोषणा गर्दै गौतमले नेतृत्व पदका लागि नभई कामका लागि हुनुपर्ने धारणा व्यक्त गरिन्। उनले भनिन्, “मेरो मूल मन्त्र सधैं पदभन्दा काम ठूलो हुन्छ भन्ने हो । जिम्मेवारीलाई अवसरका रूपमा होइन, सेवाका रूपमा ग्रहण गर्दै संस्था र व्यवसायीहरूको हितमा इमान्दारिता, निष्ठा र समर्पणका साथ निरन्तर काम गरेकी छु। नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ ।”
संघको इतिहासमा हालसम्म कुनै पनि महिलाले अध्यक्ष बन्ने अवसर नपाएको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा मात्र नभई समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक विश्वासको अभियान भएको बताइन् ।
“म उद्योगी–व्यवसायीहरूको छोरी–चेलीका रूपमा यहाँसम्म आइपुगेकी हुँ । तपाईंहरूले ममाथि देखाउनुभएको विश्वासलाई अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु, ”गौतमले भनिन् ।
उनले आफ्नो नेतृत्व पारदर्शिता, उत्तरदायित्व, सुशासन तथा सबैलाई साथमा लिएर अघि बढ्ने कार्यशैलीमा आधारित हुने बताउँदै केही समयपछि सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित औपचारिक रूपमा चुनावी अभियान सार्वजनिक गर्ने जानकारी दिइन् । सो अवसरमा आफ्नो साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजनासमेत सार्वजनिक गरिने उनले बताइन् ।
पोखराको निजी क्षेत्रको सबैभन्दा पुरानो तथा प्रतिष्ठित संस्थाका रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघको नेतृत्व चयनलाई व्यवसायीहरूले विशेष चासोका साथ हेरिरहेका छन् । अध्यक्ष पदमा शोभा गौतमको उम्मेदवारीले यसपटकको महाधिवेशनलाई थप रोचक बनाएको छ ।