काठमाडौं । नेपालको बाह्य अर्थतन्त्रका अधिकांश सूचक बलिया देखिए पनि आन्तरिक आर्थिक गतिविधि भने अझै अपेक्षाअनुसार सुधार हुन सकेका छैनन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार देशको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको तुलनामा सञ्चिति ४०.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा भने सञ्चिति २४ अर्ब ६८ करोड बराबर पुगेको छ।
रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य रूपमा बढेको छ। ११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८.२ प्रतिशत बढी हो। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर नयाँ कीर्तिमान बनेको थियो।
रेमिट्यान्सको उच्च वृद्धिसँगै शोधनान्तर स्थिति पनि दोब्बरभन्दा बढी सुधारिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत ९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यो ४ खर्ब ९१ अर्ब रुपैयाँ थियो। चालु खाता पनि ८ खर्ब २ अर्ब रुपैयाँ बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
यद्यपि, आन्तरिक अर्थतन्त्रका सूचक भने उत्साहजनक छैनन्। जेठ महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको २.७२ प्रतिशतको तुलनामा झन्डै दोब्बर हो।
बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदाहुँदै पनि कर्जा विस्तार सुस्त देखिएको छ। ११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह केवल ६.२ प्रतिशतले बढेको छ, जबकि निक्षेप १०.३ प्रतिशतले बढेर ८० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। कर्जाको माग कमजोर हुँदा बैंकहरूमा तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।
पर्यटन क्षेत्रबाट हुने आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ। अर्कोतर्फ, नेपालीले विदेश भ्रमण र शिक्षामा गर्ने खर्च भने उच्च नै रहेको छ। शिक्षातर्फ मात्रै १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढी विदेशिएको छ।
समग्रमा हेर्दा रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति र वैदेशिक क्षेत्रका सूचकहरू बलिया देखिए पनि लगानी, कर्जा विस्तार, रोजगारी, उत्पादन र राजस्वजस्ता आन्तरिक आर्थिक गतिविधि अझै कमजोर अवस्थामा रहेको राष्ट्र बैंकको प्रतिवेदनले संकेत गरेको छ।