काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठ महिनामा महँगी उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा मुद्रास्फीति २.७२ प्रतिशत मात्रै थियो।
यद्यपि चालु आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि बढी देखिएको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहँदा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ।
भान्सामा प्रयोग हुने फलफूल र घिउ–तेलको मूल्य सबैभन्दा बढी बढेको छ। फलफूलको मूल्य १७.४० प्रतिशत र घिउ तथा तेलको मूल्य १५.१० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी माछा–मासुको मूल्य ५.२६ प्रतिशत र तरकारीको मूल्य ४.१४ प्रतिशतले बढेको छ।
दाल तथा गेडागुडीको मूल्य भने ०.९३ प्रतिशतले घटेको छ।
गैरखाद्यतर्फ विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत र यातायात खर्च १५.३१ प्रतिशतले बढेको छ। मदिराजन्य पेय पदार्थ, शिक्षा तथा कपडा–जुत्ताको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
महँगी ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी देखिएको छ। सहरी क्षेत्रमा मुद्रास्फीति ५.३८ प्रतिशत रहँदा ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ। मधेस र लुम्बिनीमा ५.६२ प्रतिशत, गण्डकीमा ५.०५ प्रतिशत, बागमतीमा ४.७९ प्रतिशत र कर्णालीमा ४.८९ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
भौगोलिक आधारमा तराईमा सबैभन्दा बढी ५.७४ प्रतिशत महँगी देखिएको छ। पहाडमा ५.०७ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९८ प्रतिशत र हिमाली क्षेत्रमा ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ।
उपभोक्ता मूल्यसँगै थोक मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष जेठमा १.५६ प्रतिशत रहेको थोक मुद्रास्फीति यस वर्ष बढेर ८.४७ प्रतिशत पुगेको छ। विशेषगरी मध्यवर्ती वस्तु, पूँजीगत सामग्री र निर्माण सामग्रीको थोक मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार नेपालमा महँगी दर भारतको तुलनामा पनि उच्च रहेको छ। जेठमा नेपालको वार्षिक मुद्रास्फीति ५.२२ प्रतिशत रहँदा भारतमा मे महिनाको मुद्रास्फीति ३.९३ प्रतिशत रहेको छ।