काठमाडौं । सवारी नियम उल्लंघन गरेबापत संकलन हुने जरिवानाबाट ट्राफिक प्रहरीले २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भनी फैलाइएको हल्ला भ्रामक र तथ्यहीन भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रचार अपुष्ट, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको हो।
प्रहरी केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डिआइजी) अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लंघन गरेबापत गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको छ। त्यसबापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क वा सुविधा ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था छैन।’
यस्ता हल्लाले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई समेत अनावश्यक रूपमा विवादित बनाउने भन्दै प्रहरीले सर्वसाधारण, सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यस्ता भ्रामक सूचनाको पछि नलाग्न अनुरोध गरेको छ।