काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
उक्त व्यवस्था लागू भएपछि बजार ओरालो लागेका बेला पनि लगानीकर्ताले निश्चित सर्तअनुसार प्रतिफल आर्जन गर्न सक्ने व्यवस्था हुने बोर्डको भनाइ छ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नयाँ प्रणाली छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार बजार बढेको अवस्थामा मात्र लगानीकर्ताले लाभ लिन सक्ने परम्परागत अभ्यासलाई विस्तार गर्दै बजार घट्दा पनि लगानी व्यवस्थापनको अवसर उपलब्ध गराउने उद्देश्यले ‘सर्ट सेलिङ’ प्रणाली ल्याउन लागिएको हो।
अध्यक्ष भट्टले नेपालको पुँजी बजार सधैँ उकालो लागिरहनुपर्छ भन्ने धारणा व्यवहारिक नभएको उल्लेख गर्दै विश्वका कुनै पनि पुँजी बजार निरन्तर एउटै दिशामा अघि नबढ्ने बताए। बजारमा उतारचढाव स्वाभाविक प्रक्रिया भएकाले त्यसलाई असामान्य रूपमा व्याख्या गर्न नहुने उनको भनाइ थियो।
उनले बजारमा गिरावट आउँदा धितो पत्र बोर्डमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको उल्लेख गर्दै नियामक निकायको दायित्व बजारको दिशा तय गर्नु नभई सबै सहभागीका लागि समान र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।