काठमाडौं । २०६० को दशक तिर विराटनगरका उद्योगी र व्यवसायीका लागि मोबाइलको घण्टी बज्नु नै त्रासको संकेत बनेको थियो ।
थाइल्यान्डको बैंककबाट आउने फोनमा एउटै माग हुन्थ्यो—फिरौती । रकम नदिए गोली हानेर हत्या गर्ने र प्रहरीमा उजुरी दिए परिवार नै सखाप पार्ने धम्की दिइन्थ्यो । विशेषगरी ठूला उद्योगी, निर्माण व्यवसायी र व्यापारीहरू यस्तो गिरोहको निशानामा पर्ने गरेका थिए ।
डरका कारण धेरैले नेपालमै तोकिएका व्यक्तिलाई लाखौँ रुपैयाँ बुझाए । तर पटक–पटक रकम बुझाउँदा पनि धम्की रोकिएन । अन्तत: केही व्यवसायी प्रहरीको शरणमा पुगे ।
त्यसपछि काठमाडौंको हनुमानढोका प्रहरीको टोलीले अनुसन्धान सुरु गर्यो । बैंककबाट आएका धम्कीपूर्ण फोनहरू नेपालका कुन–कुन नम्बरमा सम्पर्कमा थिए भन्ने विवरण केलाउने क्रममा एउटा नेपाली मोबाइल नम्बर फेला पर्यो । उक्त नम्बर अभिषेक गिरीकी श्रीमतीको नाममा दर्ता भएको थियो । त्यसपछि प्रहरीले अभिषेक गिरीलाई पक्राउ गरी अनुसन्धान अघि बढायो ।
यो अभिषेक गिरीमाथिको पहिलो अनुसन्धान भने थिएन । नेपाल प्रहरीको अभिलेखअनुसार उनको आपराधिक यात्रा २०५८ सालदेखि सुरु भएको देखिन्छ ।
कुटपिटबाट सुरु भएको अपराधको श्रृंखला प्रहरीमाथि अभद्र व्यवहार, डाँका चोरी, लुटपाट, सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, अपहरण, शरीर बन्धक, ठगी र आपराधिक विश्वासघातसम्म पुगेको छ । हालसम्म उनी ११ पटक पक्राउ परिसकेका छन् ।
प्रहरीको रेकर्ड अनुसार अभिषेक गिरी पहिलो पटक २०५८ वैशाख १९ गते मोरङबाट पक्राउ परेका थिए । दिनेश सुवेदीमाथि सार्वजनिक स्थानमै कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका थिए । त्यसपछि २०५९ वैशाख १२ गते ओमप्रकाश गिरीमाथि कुटपिट गरेको आरोपमा दोस्रो पटक पक्राउ परे ।
२०६० कात्तिक ६ गते गस्तीमा खटिएको प्रहरी माथि अभद्र व्यवहार गरेको आरोपमा उनी तेस्रो पटक पक्राउ परे । त्यसको करिब छ महिनापछि, २०६० चैत १४ गते विराटनगर स्थित नेपाल टिम्बर उद्योगमा व्यवसायी मनोज चौहान र उनका कर्मचारी उमेश देवलाई कुटपिट गरी नगद ६० हजार २ सय रुपैयाँ लुटपाट गरेको आरोपमा डाँका चोरी मुद्दामा पक्राउ परे ।
२०६१ कात्तिक १ गते उनी पुन: डाँका चोरीकै आरोपमा पक्राउ परे । प्रहरीका अनुसार अभिषेकसहित ९ जनाको समूहले एउटा घरमा प्रवेश गरी ३ लाख रुपैयाँ नगद र ४ लाख ३३ हजार रुपैयाँ बराबरका गरगहना लुटपाट गरेको थियो ।
त्यसपछि २०६५ असार २४ गते सार्वजनिक कसुर र सोही वर्ष कात्तिक १० गते ज्यान मार्ने उद्योग मुद्दामा उनी पक्राउ परे । २०७१ वैशाख ३ गते सार्वजनिक अपराधको आरोपमा फेरि पक्राउ परेका उनी केही मुद्दामा अदालतबाट सफाइ पाए भने केहीमा दोषी ठहर भई कैद सजाय भुक्तान गरे । तर जेलबाट छुटेपछि पनि उनी पुन: अपराधमा जोडिँदै गए ।
२०७१ साउन १६ गते ललितपुरका अच्युत रेग्मीलाई अपहरण गरी करिब पाँच घण्टासम्म बन्धक बनाएको घटनाले अभिषेक गिरीको आपराधिक जीवनमा सबैभन्दा ठूलो मोड ल्यायो ।
प्रहरीका अनुसार शारदा सिलवाल ९कवितादेवी शाक्य० लाई प्रयोग गरी अच्युत रेग्मीलाई अपहरण गरिएको थियो । १० लाख रुपैयाँ फिरौती लिएपछि मात्रै उनलाई मुक्त गरिएको थियो । उक्त घटनामा मिलन लिम्बू र राज श्रेष्ठसमेत पक्राउ परेका थिए भने अभिषेक गिरीलाई मुख्य योजनाकारका रूपमा अभियोग लगाइएको थियो ।
जिल्ला अदालत ललितपुरले शरीर बन्धक कसुरमा उनलाई १० वर्ष कैद सजाय सुनायो । उनले करिब नौ वर्ष जेल जीवन बिताए ।
जेलभित्र रहँदा पनि उनी विवादबाट टाढा रहेनन् । मोरङ कारागारमा चौकीदारको जिम्मेवारी समेत पाएका गिरीमाथि कैदीबन्दीमाथि प्रभाव जमाएर आर्थिक लाभ लिने, दैनिक भत्ता असुल्ने र दबाब सिर्जना गर्ने आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कारागारभित्र पनि उनले कैदीबन्दीमाथि दमन गरेर आर्थिक लाभ लिने गरेको उजुरी आएको थियो ।
कैद भुक्तानपछि भने अभिषेक गिरी सार्वजनिक रूपमा परिवर्तन भएको सन्देश दिन सक्रिय भए । उनले विगतका अपराधप्रति पश्चात्ताप व्यक्त गर्दै बाँकी जीवन समाजसेवामा समर्पित गर्ने घोषणा गरे । त्यसका लागि ‘गिरी फाउन्डेसन’ स्थापना गरे, विभिन्न सामाजिक कार्यक्रममा सहभागी भए र नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय देखिए । धेरैले उनको जीवनमा नयाँ अध्याय सुरु भएको ठाने । तर त्यो अध्याय धेरै लामो टिक्न सकेन ।
गत असार १३ गते मोरङ प्रहरीले अभिषेक गिरीलाई फेरि पक्राउ गर्यो । त्यसको १० दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढायो । यसपटक उनीमाथि निर्माण व्यवसायी सुवास श्रेष्ठसँग सम्बन्धित ठगी र आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।
सीआईबीका अनुसार पहुँचका आधारमा सरकारी ठेक्का मिलाइदिने आश्वासन दिँदै आर्थिक कारोबार गरिएको, आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत ठेक्का सम्पन्न गराइदिने भन्दै रकम लिएको, निर्माणमा प्रयोग हुने सवारीसाधन नियन्त्रणमा लिएको तथा काठमाडौंको बुढानीलकण्ठस्थित घरजग्गा दबाबमा नामसारी गराएको विषयमा अनुसन्धान भइरहेको छ ।
प्रहरीको अभिलेखमा कुटपिटबाट सुरु भएको उनको आपराधिक यात्रा डाँका, लुटपाट, ज्यान मार्ने उद्योग, अपहरण, शरीर बन्धक हुँदै अहिले ठगी र आपराधिक विश्वासघातको अनुसन्धानसम्म आइपुगेको छ । हालसम्म ११ पटक पक्राउ परिसकेका अभिषेक गिरीमाथि सीआईबी र मोरङ प्रहरीले अनुसन्धान जारी राखेका छन् ।