काठमाडौं । नेकपा एमालेबाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गरेको सामूहिक राजीनामाको तयारी अचानक रोकिएको छ ।
काँग्रेससँग सातै प्रदेशमा सत्ता सहकार्यमा समस्या आएपछि एमालेले सरकार छोड्ने तयारी गरेपनि केन्द्रको निर्देशनपछि रोकिएको बताइएको छ ।
उनीहरुले आजै दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउने तयारी गरेका थिए । हाल बागमती प्रदेश सरकारमा एमालेबाट कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरणमन्त्री भरत बहादुर केसी, उद्योगमन्त्री विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा र भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटा सहभागी छन् ।
सुदूरपश्चिम प्रदेशमा बजेटको विषयमा काँग्रेससँग विवाद भएपछि काँग्रेसले सातै प्रदेशमा एमालेसँग सहकार्य नगर्ने निष्कर्ष निकालेको छ । जस अनुसार सुदूरपश्चिममा काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेपछि एमाले सरकारबाट बाहिरिएको छ । त्यस्तै काँग्रेसका कर्णाली प्रदेशका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् भने विहिबार नेकपाका मिलेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गराएका छन् ।
काँग्रेसको केन्द्रीय नेतृत्वले सबै प्रदेशमा एमालेसँग सहकार्य तोड्न निर्देशन दिएपनि एमाले नेतृत्वमा रहेको कोशी प्रदेशमा भने काँग्रेस तत्काल नबाहिरने बताइएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि काँग्रेस सरकारबाट बाहिरिने तयारी छ भने गण्डकी प्रदेशमा पनि सहकार्य टुट्ने भएको छ ।