काठमाडौं । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको तत्काल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । साथै, देशभर देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय सीमावर्ती बजार सोनवरसाबाट आफ्नो खेतीका लागि रासायनिक मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर चासो व्यक्त गरेको हो ।
विज्ञप्तिअनुसार दुवै किसानलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा राखिएको छ । घटनाबारे वास्तविकता बुझ्न कांग्रेसले पीडित परिवार तथा स्थानीय समुदायसँग पनि जानकारी लिएको जनाएको छ ।
कांग्रेसका अनुसार ती किसान आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारत गएका थिए । नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएका कारण उनीहरू सीमापारबाट मल ल्याउन बाध्य भएको पार्टीको भनाइ छ ।
कांग्रेसले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू यस्तो अवस्थाको सामना गर्न बाध्य भएको उल्लेख गर्दै, “मल गोदाममा, किसान जेलमा” भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।
पार्टीले किसानहरूको रिहाइका लागि व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ। साथै, भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका नेपाली किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ ।
कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीच सीमित नरही दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावना अनुरूप समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।