काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी दिपल निभो क्यू ०५ सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘यो एउटा अर्को एसयूभी मात्र होइन, आकर्षक उपस्थिति, कम्फर्ट, व्यवहारिकता र इन्टेलिजेन्ट प्रविधिको सन्तुलित संयोजन भएकाले एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
प्रसिद्ध अटोमोटिभ डिजाइन क्लाउस जाइसिओराको डिजाइन नेतृत्वमा सिर्जना गरिएको यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । यसले अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ ।
सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यू ०५ मा लामो २७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ । भिडभाडयुक्त सहरी सडकमा अनावश्यक रुपमा ठूलो गाडी चलाउनुपर्ने वा कुनै असुविधाविना यसले फराकिलो ठाउँ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
चीनको भित्री मंगोलियास्थित याकेसीमा आयोजित २०२६ ग्लोबल टेस्टिङ सिजनका क्रममा क्यू ०५ को न्युन घर्षणयुक्त बरफको सतहमा इन्टेलिजेन्ट ड्राइभिङको सफल परीक्षण गरिएको थियो । साथै यसमा सीएटीएलको ब्याट्री र तीव्र गतिमा चार्ज गर्ने क्षमता पनि रहेको छ ।
क्यू ०५ यो वर्ष चीनमा आफ्नो सेग्मेन्ट लिडर बन्न सफल भएको कम्प्याक्ट एसयूभी हो । योवर्ष जुनको अन्त्यसम्ममा चीनमा ७६ हजारभन्दा बढी क्यू ०५ बिक्री भइसकेको छ ।
पुरस्कृत डिजाइन, अपेक्षाभन्दा ठूलो इन्टेरियर, इन्टेलिजेन्ट प्रविधि र अन्तर्राष्ट्रिय बजारमा प्रमाणित लोकप्रियताले यो इलेक्ट्रिक एसयूभीलाई नेपालमा बहुप्रतिक्षित बनाएको कम्पनीले जनाएको छ । तथापी नेपाली बजारमा आउने भेरियन्ट, स्पेसिफिकेसन, फिचर र मूल्यका बारेमा आधिकारिक लन्चमै सार्वजनिक हुने बताइएको छ ।