काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा विदेशमा लामो समय उपचारपछि नेपाल फर्कने तयारीमा छन् ।
बीपी स्मृति दिवसका दिन देउवाले नेपाल फर्कने घोषणा गरेसँगै उनी र उनको परिवारका सदस्यविरुद्ध नेपालमा जारी विभिन्न अनुसन्धानले अब राजनीतिक र कानुनी रूपमा कस्तो मोड लिन्छ भन्ने विषयमा चासो बढेको छ ।
गत फागुनमा उपचारका लागि विदेश गएका देउवा अहिले हङकङमा रहेको बताइएको छ । उनले बीपी स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै आफू छिट्टै स्वदेश फर्कन लागेको जानकारी दिएका हुन् । उनले देशले अहिले प्रतिशोध नभई सहकार्य खोजेको उल्लेख गर्दै आफू लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र न्यायप्रतिको विश्वाससहित नेपाल फर्कन लागेको सन्देश दिएका छन् ।
देउवा नेपाल फर्कने तयारीमा रहेका बेला उनी र उनको परिवारसँग जोडिएका विभिन्न विषयमा सरकारी निकायबाट भइरहेको अनुसन्धान भने टुंगिएको छैन । विशेषगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पती र उनका छोरा जयवीर देउवासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ ।
गत चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि देउवा दम्पतीलाई पक्राउ गर्न अनुमति दिएको थियो । तर उक्त पक्राउ अनुमति सर्वोच्च अदालतले बदर गरिदिएपछि अनुसन्धान प्रक्रिया अन्य कानुनी माध्यमबाट अघि बढिरहेको छ ।
सर्वोच्च अदालतले पक्राउ अनुमति जारी गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसलाई बदर गरेको हो । सरकारले इन्टरपोलमार्फत समेत देउवालाई नेपाल ल्याउने प्रयास गरेको थियो । तर आवश्यक कानुनी प्रक्रिया पूरा नभएको भन्दै अदालतले त्यसलाई अनुमति नदिएको बताइएको छ ।
त्यसैले देउवा स्वदेश फर्किएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग थप सोधपुछ वा बयान लिन सक्ने सम्भावनालाई चासोका साथ हेरिएको छ ।
यस्तै, देउवाकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्ब १३ करोड रुपैयाँभन्दा बढीको राहदानी प्रकरणमा अनुसन्धान गरिरहेको छ । आरजु परराष्ट्रमन्त्री भएका बेला राहदानी छपाइको ठेक्का दिँदा उनको निर्देशनमा भ्रष्टाचार भएको हुन सक्ने आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
जेन्जी आन्दोलनपछि क्षति पुगेको बुढानीलकण्ठस्थित देउवा निवासमा पुगेर अख्तियारले राहदानी छपाइसम्बन्धी उजुरीमा बयानका लागि उपस्थित हुन सूचना टाँसेको थियो ।
देउवा परिवारसँग जोडिएको अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष उनका छोरा जयवीर देउवासँग सम्बन्धित छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही समयअघि सार्वजनिक सूचना जारी गर्दै अनुसन्धानका क्रममा आवश्यक जानकारीका लागि उनलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको थियो । जयवीरको नाममा रहेको कम्पनीमा भएको आर्थिक कारोबार तथा विभिन्न व्यावसायिक सम्बन्धबारे विभागले अनुसन्धान गरिरहेको बताइएको छ ।
विभागले पूर्वअर्थमन्त्री विष्ण्ॉ पौडेलसहितका व्यक्तिलाई प्रतिवादी बनाएर दायर गरेको आरोपपत्रमा समेत जयवीर देउवासँग सम्बन्धित आर्थिक कारोबारको विषय उल्लेख गरिएको छ । आरोपपत्रमा सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका दीपक भट्टको लगानी रहेको व्यापारिक संस्थाबाट जयवीर देउवाको लगानी रहेका दुई कम्पनीमा करिब २ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको विवरण समेटिएको छ । उक्त रकमको स्रोत र कारोबारको प्रकृतिबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
जेन्जी आन्दोलनका क्रममा देउवा परिवारको निवासमा आगजनी तथा तोडफोड भएपछि त्यहाँबाट भेटिएका नेपाली तथा विदेशी मुद्रासहितका विषय पनि अनुसन्धानको दायरामा तानिएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले समेत देउवालगायत केही व्यक्तिको घरमा भएको आक्रमणका क्रममा फेला परेको रकमबारे कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
देउवा दम्पती विदेश गएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूको यात्रा विवरण तथा उनीहरू रहेको स्थानबारे अध्यागमन विभागसँग जानकारीसमेत मागेको थियो । उनीहरूले यसअघि विभागलाई पत्राचार गर्दै स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार पूरा भएपछि अनुसन्धानका लागि उपस्थित हुने जानकारी गराएका थिए ।
अब देउवा नेपाल फर्किएपछि उनीमाथि अनुसन्धानका क्रममा के प्रक्रिया अघि बढ्छ भन्ने विषय महत्वपूर्ण बनेको छ । सर्वोच्च अदालतबाट पक्राउ अनुमति बदर भइसकेको अ
वस्थामा अनुसन्धान निकायले उनलाई पक्राउ गर्नेभन्दा बयानका लागि बोलाउने वा अन्य कानुनी प्रक्रियामार्फत अनुसन्धान अघि बढाउने सम्भावना देखिएको छ । तर अनुसन्धानको प्रकृति र प्रमाणका आधारमा सम्बन्धित निकायले चाल्ने कदमले नै यसको टुंगो लगाउनेछ ।
एकातिर देउवा पक्षले सरकारबाट राजनीतिक प्रतिशोध हुन सक्ने आशंका व्यक्त गरिरहेको छ भने अर्कोतर्फ सरकारले अनुसन्धान कानुनी प्रक्रियाअनुसार अघि बढाइरहेको छ ।
नेपाल फर्किएपछि देउवा तत्काल राजनीतिक रूपमा सक्रिय हुने सम्भावना पनि उत्तिकै चर्चामा छ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष, पार्टीको आगामी रणनीति र सरकारसँगको सम्बन्धका बीच उनको स्वदेश फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यससँगै उनी र उनको परिवारसँग सम्बन्धित अनुसन्धानले पनि नयाँ चरण प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।
यसअघि विभिन्न राजनीतिक व्यक्तिमाथि भएका अनुसन्धान र पक्राउका घटनालाई लिएर सरकारमाथि प्रतिशोधको आरोप लाग्दै आएको छ । त्यसैले देउवा नेपाल फर्किएपछि अनुसन्धान गर्ने निकायले चाल्ने कदमलाई राजनीतिक वृत्तसँगै आम चासोका रूपमा हेरिएको छ । अनुसन्धान निष्पक्ष र कानुनसम्मत ढंगले अघि बढ्छ वा राजनीतिक विवादको विषय बन्छ भन्ने प्रश्नको उत्तर अब देउवाको स्वदेश फिर्तीपछि देखिने घटनाक्रमले दिनेछ ।