काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले सेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं र डा. निरञ्जन आचार्यको पनि सहभागिता रहेको थियो।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न रोगको विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा रुट क्यानल उपचार, मुख तथा जबडाको शल्यक्रिया, दन्त प्रत्यारोपण, बाल दन्त सेवा, दाँत मिलाउने उपचार, लेजर दन्त उपचारलगायत आधुनिक प्रविधिमा आधारित सेवा उपलब्ध छन्। आवश्यकता अनुसार एम्बुलेन्स सेवासमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।
दन्त स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भएको हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्स प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धनप्राप्त संस्था हो। हाल संस्थाले तीनवर्षे डेन्टल साइन्स, डेन्टल असिस्टेन्ट तथा डेन्टल ल्याब मेकानिक्स तालिम सञ्चालन गर्दै आएको छ भने निकट भविष्यमा ब्याचलर इन डेन्टल सर्जरी र ब्याचलर इन डेन्टल हाइजिन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
संस्थाले उपचार सेवा मात्र नभई समुदायमा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई पनि निरन्तरता दिएको छ। विभिन्न विद्यालय तथा समुदायमा नियमित दन्त स्वास्थ्य शिविर सञ्चालन गर्दै दन्त परीक्षण, परामर्श र प्राथमिक उपचार उपलब्ध गराउनुका साथै विद्यार्थीलाई व्यावहारिक तथा क्लिनिकल अनुभव दिलाउने कार्यसमेत गर्दै आएको अस्पतालले जनाएको छ।
हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले आगामी दिनमा गुणस्तरीय दन्त उपचार, व्यावहारिक शिक्षा र दक्ष जनशक्ति उत्पादनलाई थप सुदृढ गर्दै नेपालको दन्त स्वास्थ्य क्षेत्रमा आफ्नो योगदान विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।