काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको छ।
बैठकमा नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिहरूबाट सिफारिस भई आएका विभिन्न नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरिएको छ।
बैठकले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यकतासम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
त्यस्तै, रबरको कठोरता परीक्षणसँग सम्बन्धित ISO 48-1:2018 र ISO 48-2:2018, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी ISO 188:2023 लगायतका अन्तर्राष्ट्रिय मापदण्डहरू पनि बैठकमा स्वीकृत भएका छन्।
यसैगरी, रबर तथा थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी ISO 815-1:2019 र ISO 815-2:2019 मापदण्डलाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ।
गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले परिषद्को बैठक महत्वपूर्ण मानिएको छ। स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुधार, परीक्षण प्रणालीको प्रभावकारिता र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको सहभागितामा सम्पन्न बैठकले गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको छ।