काठमाडौं । मधेशकेन्द्रित, पहिचानवादी तथा प्रगतिशील राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै आठ दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाको सहभागितामा मोर्चा घोषणा गरिएको हो ।
मोर्चा घोषणासँगै २८ बुँदे अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ । समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय तथा उत्पीडित र सीमान्तकृत समुदायका अधिकारलाई थप सशक्त बनाउने विषयलाई मोर्चाले प्राथमिकतामा राखेको छ ।
मोर्चाको नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ । निर्णय प्रक्रियामा सकेसम्म सर्वसम्मतिको विधि अपनाउने र सर्वसम्मति कायम हुन नसके लोकतान्त्रिक विधि तथा प्रक्रियाबाट निर्णय गर्ने व्यवस्था अवधारणापत्रमा उल्लेख छ ।
मोर्चाले विभिन्न राजनीतिक शक्ति र नेताबीच सहकार्य, समन्वय र साझा राजनीतिक अभियानमार्फत मुलुकको समसामयिक आवश्यकता सम्बोधन गर्ने लक्ष्यसमेत अघि सारेको छ ।