खासमा म अहिलेको राजनीतिक परिस्थितिमा धेरै टिप्पणी नगरौँ भन्ने पक्षमा थिएँ। यत्रो वर्ष पार गरियो, धेरै कुरा सहियो। अहिले बल्ल नवयुवाहरूको हातमा शासनसत्ता पुगेको छ। यस्तो अवस्थामा विरोधमाथि विरोध गरेर वातावरण बिगार्नु राम्रो हुँदैन भन्ने मेरो बुझाइ थियो।
तर प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो कार्यशैलीले भने केही कुरा लेख्नैपर्ने अवस्था सिर्जना गरेको छ।
नेपालको इतिहास साक्षी छ—सत्ताको दुरुपयोग र हिंसात्मक घटनाबाट हामी पटक–पटक गुज्रिएका छौँ। कोत पर्वदेखि जंगबहादुरका सन्तानमाथिका घटनासम्म, राजा वीरेन्द्रको वंश नाशदेखि त्यसपछिका अनेकौँ राजनीतिक घटनासम्मका पीडा नेपाली जनताले भोगेका छन्। अहिलेको पुस्ताले ती इतिहासलाई राम्ररी बुझेको छ।
यही असन्तोष र परिवर्तनको चाहनाको आगो २३ गते सल्कियो र ठूलो परिवर्तन सम्भव भयो। के भयो, कसका लागि भयो, कसले के गुमायो—यी सबै प्रश्नको जवाफ समयक्रमसँगै इतिहासले दिनेछ।
तर प्रजातन्त्रको मूल आधार भनेको जनता हुन्। जनताबाट निर्वाचित भएर सत्तामा पुगेपछि जनताप्रति उत्तरदायी हुनुको विकल्प हुँदैन। यो लोकतन्त्रको अकाट्य सत्य हो।
त्यसैले अहिले कतै प्रधानमन्त्री बालेन्द्र शाह पनि त्यही गल्तीको बाटोतर्फ त गइरहनुभएको छैन भन्ने प्रश्न उठ्न थालेको छ।
जनताबाट निर्वाचित प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेटेर आफ्ना कुरा राख्न चाहिरहेका छन्। उनीहरू सरकारसँग सहकार्य गर्न चाहिरहेका छन्। तर प्रधानमन्त्री आफ्नै शैलीमा व्यस्त देखिनुहुन्छ।
जनता प्रश्न गरिरहेका छन्—
बिजुलीमा किन कर लगाइयो?
आर्थिक गतिविधि दिनप्रतिदिन ओरालो लाग्दैछ भने त्यसको कारण के हो?
जरिवाना तिर्न नसकेर मानिसले आत्मदाह गर्नुपर्ने अवस्था किन आयो?
क्यान्सरजस्तो गम्भीर रोगको उपचार गर्न नसकेर मानिसले जीवन त्याग्नुपर्ने अवस्था किन सिर्जना भयो?
यी प्रश्नहरू केवल आलोचनाका लागि उठाइएका प्रश्न होइनन्। यी आम नागरिकका पीडा र सरोकार हुन्।
एउटा कथामा चिसो पानीमा रातभरि बस्न बाध्य भएको मानिसलाई ‘यति चिसो पानीमा रातभरि कसरी बस्यौ?’ भनेर सोध्दा उसले नजिकैको बत्ती हेरेर बसेको जवाफ दिन्छ। त्यो बत्ती धेरै टाढा थियो, तर त्यसले उसलाई आशा दिएको थियो।
मानिसलाई धेरैपटक आशाले नै बचाउँछ। आशा मरेपछि मानिस कमजोर हुन्छ।
त्यसैले राष्ट्र प्रमुख र सरकारको व्यवहार पनि त्यही बत्ती जस्तै हुनुपर्छ—जनताबाट टाढा भए पनि, ‘मेरो समस्या सरकारसम्म पुग्छ, मेरो कुरा सुनिन्छ’ भन्ने भरोसा जनतामा हुनुपर्छ।
अहिले प्रधानमन्त्रीमा यही भरोसा निर्माण गर्ने पक्षमा केही कमी स्पष्ट रूपमा देखिन थालेको मेरो बुझाइ छ।
हो, बिचौलियालाई नभेट्नुस्।
तर जनप्रतिनिधिलाई नरोक्नुस्।
संसदमा अन्य प्रधानमन्त्रीभन्दा बढी समय दिनुस्। जनप्रतिनिधिका कुरा सुन्नुस्। जनताको बीचमा जानुस्। उनीहरूका समस्या प्रत्यक्ष सुन्नुस्।
सरकारलाई सबै समस्या आजै समाधान गर्नुपर्छ भन्ने होइन। धेरै समस्या समयसँगै समाधान हुन्छन्। तर समस्या समाधान हुने आशा र सरकारप्रतिको भरोसा भने आजै दिन सकिन्छ।
शासन भनेको केवल सत्ता सञ्चालन होइन, जनताको आवाज सुन्ने जिम्मेवारी पनि हो।
प्रधानमन्त्रीज्यू, इतिहासले तपाईंलाई एउटा ठूलो अवसर दिएको छ। यो अवसरलाई जनतासँगको दूरी बढाएर होइन, जनतासँगको सम्बन्ध अझ बलियो बनाएर सफल बनाउनुहोस्।
किनकि अन्ततः लोकतन्त्रमा शक्ति सिंहासनमा होइन—जनतामा हुन्छ।