काठमाडौं । अन्तर्राष्ट्रिय प्रविधि ब्रान्डको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले अटोमोबाइल बजारमा प्रवेश गर्दै नयाँ विद्युतीय कार ‘बोमा ईभी’ नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले जेनएक्सटी मोटर्समार्फत बोमा ईभी सार्वजनिक गरेको हो । नेपालमा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा यो कार प्रदर्शनीको मुख्य आकर्षणमध्ये एक बनेको छ ।
सहरमा दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको बोमा ईभीमा २९.९ किलोवाट क्षमताको ब्याट्री र ३५ किलोवाटको मोटर जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ । सामान्य विद्युतीय प्लगबाट करिब ७ घण्टामा ब्याट्री पूर्ण चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।
५ ढोका र ५ सिट रहेको बोमा ईभी कम्प्याक्ट आकारको भए पनि भित्री भाग फराकिलो र आरामदायी रहेको कम्पनीले जनाएको छ । साँघुरा सडकमा सहज रूपमा चलाउन र पार्किङ गर्न सकिने भएकाले यो कार कार्यालय आवतजावत, पारिवारिक प्रयोग तथा व्यक्तिगत यात्राका लागि उपयोगी हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा बोमा ईभीको सुरुआती मूल्य २० लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।