काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ ।
मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शव उनका आफन्तले पहिचान गरेका छन् ।
साउन २० गते ६८ वर्षीय केदारनाथ पराजुलीले लामो समयदेखि अस्वस्थ रहेकी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका थिए । उक्त घटना मन्दिर नजिकैको दृश्य निगरानीमा समेत कैद भएको प्रहरीले जनाएको छ । घटनापछि दुवै जना नदीमा बेपत्ता भएका थिए । केदारनाथको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।