काठमाडौं । चिनियाँ प्रिमियम सवारीसाधन ब्रान्ड हङ्चीको नयाँ विद्युतीय एसयूभी ईएचएस४ नेपालमा सार्वजनिक भएको छ।
चिनियाँ राष्ट्रपति तथा उच्च सरकारी अधिकारीहरूको आधिकारिक सवारीमा समेत हङ्चीका विभिन्न मोडल प्रयोग हुँदै आएका छन्।
ईएचएस४ मा ६७.३ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। मोटरले अधिकतम २४० न्युटन मिटर टर्क उत्पादन गर्छ।
यसले एकपटक पूर्ण चार्जमा ४६० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीले जनाएको छ। तीव्र चार्जिङ प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट लाग्ने बताइएको छ।
सुरक्षातर्फ ईएचएस४ मा विद्युतीय स्थिरता नियन्त्रण, एन्टिलक ब्रेकिङ प्रणाली, ट्र्याक्सन नियन्त्रण, हिल होल्ड नियन्त्रण र हिल डिसेन्ट नियन्त्रणजस्ता सुविधा छन्।
त्यस्तै, गाडीमा अनुकूली क्रुज नियन्त्रण, लेनबाट बाहिरिँदा चेतावनी दिने प्रणाली, ३६० डिग्री क्यामेरा उपलब्ध छन्।चालकको अवस्था निगरानी गर्ने प्रणाली र जीवन पहिचान रडारसमेत राखिएको छ।
नाइमा एक्स्पोमा सार्वजनिक गरिएको गाडीको मूल्य ५९ लाख ९९ हजार राखिएको छ। नाइमा अफरमा ५७ लाख ९९ हजारमै पाइने भएको छ।