काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा उद्योग विभागमार्फत पर्यटन क्षत्रेका १७ परियोजनामा ४६ अर्ब २१ करोड रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।
लगानी प्रतिबद्धता भएका १७ आयोजनामा प्रत्यक्षरूपमा २ हजार २ सय ३८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ। पर्यटन क्षेत्रतर्फ होटल, रिसोर्ट, केबलकार तथा अन्य पर्यटनसम्बन्धी परियोजनामा लगानी आकर्षण देखिएको हो।
१७ परियोजनामा ४४ अर्ब ७३ करोड ३७ लाख रूपैयाँभन्दा बढी स्थिर पुँजीतर्फ र १ अर्ब ४८ करोड २९ लाख रूपैयाँभन्दा बढी चालु पुँजीतर्फ रहेको छ।
पर्यटन उद्योगमा होटल तथा रिसोर्टसँगै केबलकार र साहसिक पर्यटनका परियोजना पनि थपिँदै गएका छन्। उपलब्ध विवरणअनुसार सबैभन्दा ठूलो लगानी सिन्धुपाल्चोकको हेलम्बुमा प्रस्ताव गरिएको सूर्यकुण्ड गोसाइँकुण्ड केबलकार परियोजनामा रहेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा प्रस्ताव गरिएको सूर्यकुण्ड गोसाइँकुण्ड केबलकार प्रालिमा १० अर्ब १ करोड ८ लाख रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।
कम्पनीले केबलकार परियोजनामार्फत वार्षिक ४ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ। यसैगरी भक्तपुरको मध्यपुर थिमीमा प्रस्ताव गरिएको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले ६ अर्ब ६० करोड रूपैयाँको लगानी प्रतिबद्धता गरेको छ।
होटल तथा आतिथ्य सेवासँग सम्बन्धित परियोजनाबाट ५०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ। परियोजनामा रेस्टुरेन्ट तथा बार, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जन, होटलका कोठा, मसाज तथा स्पा र आउटलेट भाडालगायतका सेवा सञ्चालन गर्ने योजना रहेको छ।
यसैगरी कुमारी एसपीभी होल्डिङ्स प्राइभेट लिमिटेडले २ अर्ब ११ करोड ६६ लाख रूपैयाँभन्दा बढी लगानीमा पर्यटन उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ। यस परियोजनामा २ अर्ब ७० करोड ६७ लाख रूपैयाँ स्थिर पुँजी र करिब ४ करोड ६० लाख रूपैयाँ चालु पुँजी रहनेछ। परियोजनाबाट १२० जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।
त्यस्तै, ललितपुरको गोदावरी नगरपालिकामा गोदावरी फरेष्ट होटलले २ अर्ब ८२ करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। परियोजनामा २ अर्ब ६९ करोड रूपैयाँ स्थिर पुँजी र १३ करोड रूपैयाँ चालु पुँजी रहनेछ। होटलमा ९६ वटा बेड र २०० सिट क्षमताको रेस्टुरेन्ट रहनेछ। यसबाट ९५ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।
उद्योग विभागका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा फिस्टेल केबलकार एन्ड एडभेन्चर प्रालिले २ अर्ब २० करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। केबलकार परियोजनाबाट वार्षिक १४ लाख ४० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ। परियोजनाबाट ८२ जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ।
यसैगरी पोखरा महानगरपालिकामा बाराही सेदी परियोजनाले २ अर्ब १० करोड ७१ लाख रूपैयाँभन्दा बढी लगानी गर्ने प्रस्ताव गरेको छ। परियोजनामा होटल तथा रेस्टुरेन्टसँगै बैंक्वेट, सम्मेलन हल, बैठक हल, पेय पदार्थ तथा खानाको सेवा सञ्चालन गरिनेछ। यसबाट ३०० जनालाई रोजगारी दिने प्रस्ताव गरेको छ।
पोखरामा नै आइएमई होटल एन्ड रिसोर्ट प्रालिले करिब २ अर्ब ९६ करोड रूपैयाँ लगानी गर्ने भएको छ। प्रस्तावित होटलमा १८० बेड तथा २०० सिट क्षमताको रेस्टुरेन्ट रहने छ भने ५६ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।
यसैगरी काठमाडौंमा कर्म हस्पिटालिटी प्रालिले ३ अर्ब ५७ करोड रूपैयाँको लगानीमा होटल तथा रिसोर्टलगायत पर्यटनसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। विभागकै तथ्यांकअनुसार काभ्रेमा स्वर्णिम माउन्टेन रिसोर्टमा १ अर्ब २४ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रमा होटल तथा रिसोर्टमात्र नभइ केबलकार परियोजनामा पनि लगानी बढेको देखिएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको सुपा देउरालीमा समेत केबलकार निर्माण हुने छ।
कालिन्चोकमा केबलका निर्माण गरेका व्यवसायी बालकृष्ण शिवाकोटीले १ अर्ब ३० करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव गरेका हुन। परियोजनाबाट वार्षिक ५ लाख यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ। यसबाट ८० जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ।
यसैगरी पाल्पाको रानी मलमा पनि १ अर्ब ९२ करोड ७५ लाख रूपैयाँको लगानीका केबलकार निर्माणका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
विभागकै अनुसार बाँकेको जानकी गाउँपालिकामा पौवा वेस्टर्न प्रालिले १ अर्ब रूपैयाँमा होटल निर्माणका लागि लगानी प्रतिबद्धता आएको छ।
यसैगरी जानकी गार्डेन होटल एन्ड रिसोर्ट लिमिटेडले १ अर्ब ५ करोड रूपैयाँ र अन्नपूर्ण भिस्टा रिट्रिट प्रालिले १ अर्ब ९८ करोड २३ लाख रूपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ।
साथै बाराको जितपुरमा भरलेली हस्पिटालिटीले २ अर्ब १६ करोड ६१ लाख रूपैयाँको लगानीमा तारे होटल निर्माण गर्ने भन्दै लगानी प्रतिबद्धता गरेको छ।
विभागकै तथ्यांकअनुसार सेक्युर हस्पिटालिटी प्रालिले होटल निर्माणका लागि १ अर्ब ५० करोड रूपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ भने क्लब चौलानी लिमिटेडले धनगढीमा १ अर्ब ६६ करोड ६६ लाख रूपैयाँको लगानीमा होटल निर्माण गर्ने भएको छ।