काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झण्डै साढे पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएसँगै उनको अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीतिसँगै राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सिर्जना गरेको छ ।
स्वदेश फर्किएलगत्तै उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहप्रति विगतको आफ्नो धारणा सार्वजनिक गर्नुका साथै आफू हिन्दु भएको विषयलाई जोडदार रूपमा उठाएपछि देउवाको पछिल्लो राजनीतिक लाइनलाई लिएर विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।
साउन २८ गते त्रिभुवन विमानस्थलमा नेता–कार्यकर्ताको भव्य स्वागत पाएपछि देउवा संस्थापनइतर समूहको सम्पर्क कार्यालय पुगेका थिए । त्यहाँ सम्बोधन गर्दै उनले आफूविरुद्ध भइरहेको अनुसन्धानको सन्दर्भमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै चुनौतीपूर्ण अभिव्यक्ति दिए । उनले भनेका थिए, ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’
देउवाले तत्कालीन राजासँगको आफ्नो सम्बन्ध र राजसंस्था रहेको समयको राजनीतिक अवस्थाबारे पनि खुलेर धारणा राखे । आफूले तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘तपाईंको जुनसुकै हुकुम मान्न तयार छु, तर प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’ भनेको स्मरण गर्दै उनले त्यसपछि आफू जेल परेको बताए । गणतन्त्र स्थापना हुनुमा समेत राजा ज्ञानेन्द्रको ठूलो भूमिका रहेको उनको दाबी थियो ।
त्यसको भोलिपल्ट साउन २९ गते संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दा पनि देउवाले राजसंस्थाको विषय उठाए । उनले पटक–पटक ज्ञानेन्द्र शाहकै राजनीतिक कदमका कारण नेपालमा गणतन्त्र आएको धारणा राखे । साथै, आफूले विगतमा नेपालमा बेलायतको जस्तै संवैधानिक वा सेरेमोनियल राजसंस्था रहन सक्ने धारणा राखेको समेत स्मरण गराए ।
तर देउवाको पछिल्लो अभिव्यक्तिको अर्को महत्वपूर्ण पाटो हिन्दु धर्म प्रतिको उनको सार्वजनिक अभिव्यक्ति हो । साउन ३१ गते तीनदिने भेलाको समापन कार्यक्रममा उनले आफ्नो विवाह र व्रतबन्ध हिन्दु परम्परा अनुसार भएको प्रसंग उल्लेख गर्दै दुवै हात उठाएर तीनपटक जोड दिँदै भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु।’
देउवाले यसरी हिन्दु पहिचानलाई जोड दिएसँगै संस्थापनइतर समूहको भेलाबाट पारित दस्तावेजमा समेत सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय समेटिएको छ । भेलाका लागि तयार पारिएको २० बुँदे निष्कर्षमा धार्मिक स्वतन्त्रता र सबै धर्म–सम्प्रदायको संरक्षणको विषय उल्लेख भए पनि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने स्पष्ट राजनीतिक लाइन थिएन । तर अन्तिम चरणमा छुट्टै पाँचबुँदे घोषणापत्र तयार पार्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता समेटिएको बताइएको छ ।
उक्त दस्तवेजमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोड्दै हिन्दु, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसले कांग्रेसभित्र लामो समयदेखि बहसमा रहेको हिन्दु राष्ट्रको मुद्दालाई फेरि राजनीतिको केन्द्रमा ल्याएको छ ।
कांग्रेसभित्र हिन्दु राष्ट्रको माग नयाँ भने होइन । २०८० फागुनमा गोदावरीमा भएको महासमिति बैठकका क्रममा समेत हिन्दु धर्मसम्बन्धी राजनीतिक लाइन लिनुपर्ने माग गर्दै हस्ताक्षर अभियान चलेको थियो । तर त्यसबेला कांग्रेसले औपचारिक रूपमा उक्त मागलाई आफ्नो राजनीतिक नीति बनाएको थिएन ।
अहिले भने परिस्थिति फरक देखिएको छ । विशेष महाधिवेशनपछि कांग्रेसको मूलधारको नेतृत्वबाट अलग देखिएका देउवा पक्षले सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति अघि सारेको छ । त्यसैले यसलाई धार्मिक आस्थाको अभिव्यक्ति मात्र नभई बदलिँदो राजनीतिक समीकरणमा आफ्नो छुट्टै राजनीतिक पहिचान निर्माण गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।
जानकारहरुले देउवाको पछिल्लो हिन्दुत्वको लाइनलाई उनको दीर्घकालीन सैद्धान्तिक राजनीतिक सोचभन्दा पनि राजनीतिक परिस्थिति र सुरक्षासँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनीहरुले लामो विदेश बसाइपछि देउवा केही राजनीतिक गृहकार्यसहित नेपाल फर्किएको हुनसक्ने र भारतमा बढ्दो हिन्दुत्वको प्रभावले समेत उनको पछिल्लो राजनीतिक अभिव्यक्तिमा भूमिका खेलेको हुनसक्ने औंलाएका छन् ।
देउवाको अभिव्यक्तिले राजसंस्था समर्थकहरूलाई समेत उत्साहित बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधिसभा प्रमुख सचेतक खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत देउवाको अभिव्यक्तिलाई स्वागत गर्दै नेपालका हिन्दु तथा सनातनी समुदायमा नयाँ आशा र विश्वास पैदा भएको टिप्पणी गरेकी छन् ।
ओलीले लेखेकी छन्, ‘नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले आफू हिन्दु धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ ।’ उनले नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्ने बताएकी छन् ।
देउवाको पछिल्लो राजनीतिक अभिव्यक्तिमा दुईवटा विषय एकैपटक देखिन्छन । राजसंस्थाप्रति विगतको तुलनामा नरम देखिने अभिव्यक्ति र हिन्दु पहिचानलाई खुलेर राजनीतिक बहसमा ल्याउने प्रयास । यी दुवै विषय नेपालको पछिल्लो राजनीतिमा प्रभावशाली राजनीतिक मुद्दा बन्दै आएका छन् ।
त्यसैले देउवाको पछिल्लो लाइनलाई व्यक्तिगत धार्मिक आस्थाका रूपमा मात्र बुझ्ने कि बदलिँदो राजनीतिक परिस्थितिअनुसार गरिएको रणनीतिक ‘कोर्स करेक्सन’का रूपमा हेर्ने भन्ने प्रश्न अहिले उठेको छ । विशेषगरी कांग्रेसको आधिकारिक नेतृत्व र देउवा पक्षबीचको राजनीतिक विवाद, आगामी निर्वाचन र पार्टीको वैधानिकताको प्रश्नसँगै यो मुद्दाले थप राजनीतिक अर्थ राख्ने देखिन्छ ।
यदि अदालतले अन्तत: नेपाली कांग्रेसको आधिकारिकताको प्रश्नमा देउवा पक्षलाई मान्यता दियो भने सनातन धर्म र हिन्दु पहिचानको मुद्दा आगामी निर्वाचनमा कांग्रेसको राजनीतिक एजेन्डा बन्ने सम्भावना देखिएको छ ।
साढे पाँच महिनाभन्दा लामो विदेश बसाइपछि नेपाल फर्किएका देउवाले दिएका पछिल्ला अभिव्यक्तिले उनको व्यक्तिगत राजनीतिक छविसँगै कांग्रेसभित्रको आगामी शक्ति संघर्ष र नेपालको राष्ट्रिय राजनीतिमा नयाँ बहसको ढोका खोलिदिएको छ । हिन्दुप्रति देउवाको ‘गरम’ अभिव्यक्ति र राजसंस्थाप्रति देखिएको ‘नरम’ धारणा तत्कालीन राजनीतिक रणनीति हो वा दीर्घकालीन राजनीतिक कोर्स करेक्सन, त्यसको वास्तविक परीक्षण भने आगामी राजनीतिक घटनाक्रमले गर्नेछ ।