काठमाडौं । एथर नेपालले नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ।
नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एक्स्पोलाई लक्षित गर्दै नयाँ सिरिज सार्वजनिक गरेको हो।
आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाइमा एक्स्पोमा एथरले ४५०एक्स ओभरटोन्ससँगै आफ्ना विभिन्न स्मार्ट प्रविधि तथा चार्जिङ समाधानसमेत प्रदर्शनमा राखेको छ। एथरको स्टल हल ‘सी’ अन्तर्गत स्टल ‘सी२’ मा रहेको छ।
तीन नयाँ रङमा ४५०एक्स ओभरटोन्स
नयाँ ४५०एक्स ओभरटोन्स सिरिज तीन नयाँ रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे रहेका छन्।४५० सिरिजको पहिलेदेखिकै धारिलो तथा आधुनिक डिजाइनलाई निरन्तरता दिँदै ओभरटोन्समा नयाँ रङ विकल्प थप गरिएको हो। एथरले ४५०एक्सलाई आफ्नो प्रविधि तथा प्रदर्शन केन्द्रित इलेक्ट्रिक स्कुटरका रूपमा अघि बढाउँदै आएको छ।
४५० सिरिजको प्रमुख स्मार्ट फिचरमध्ये म्याजिक ट्विस्ट पनि एक हो। यस प्रविधिमा थ्रोटललाई पछाडितर्फ ट्विस्ट गर्दा स्कुटरको गति घटाउन सकिन्छ। यसले विशेषगरी बारम्बार ब्रेक लिभर प्रयोग गर्नुपर्ने अवस्थालाई कम गर्न सहयोग गर्छ। मोटरमार्फत गति घटाउने क्रममा पुनः ऊर्जा ब्याट्रीमा संकलन हुने राइडिङ प्रणालीसँग यो प्रविधि जोडिएको छ। एथरले म्याजिक ट्विस्टलाई ४५० सिरिजका प्रमुख राइडिङ प्रविधिमध्ये एकका रूपमा अघि सारेको छ।
कम्पनीका अनुसार, नयाँ सिरिजमा इन्फिनिट क्रुज प्रविधि पनि उपलब्ध गराइएको छ। यो परम्परागत क्रुज कन्ट्रोलभन्दा फरक रूपमा सहरी तथा विभिन्न सडक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको प्रणाली हो। यसमा सिटीक्रुज, हिल कन्ट्रोल र क्रल कन्ट्रोलजस्ता मोड समावेश छन्। यसले लामो यात्रा, उकालो–ओरालो तथा कम गतिमा चलाउनुपर्ने अवस्थालाई सहज बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ। एथरको आधिकारिक विवरणअनुसार ४५०एक्समा इन्फिनिट क्रुज उपलब्ध छ।
एथरले आफ्नो ‘भ्वाइस अन एथर’ प्रविधिमार्फत स्कुटरमा आवाजमा आधारित स्मार्ट कमान्डको सुविधा विस्तार गरेको छ। AtherStack 7.0 अन्तर्गत ल्याइएको यो प्रविधिले राइडरलाई आवाजमार्फत विभिन्न कार्य गर्न सहयोग गर्छ। यसबाट गन्तव्य खोज्ने, नेभिगेसन सुरु गर्ने तथा उपलब्ध सुविधाअनुसार स्कुटरका विभिन्न कार्य सञ्चालन गर्न सकिन्छ। कम्पनीले आवाजमा आधारित प्रविधिलाई दैनिक राइडिङलाई थप सहज तथा इन्ट्युटिभ बनाउने उद्देश्यले विकास गरेको जनाएको छ।
एथरले नयाँ ६ किलोवाट फास्ट चार्जिङ प्रविधि पनि अघि सारेको छ। कम्पनीका अनुसार छनोट गरिएका एथर स्कुटरमा यस चार्जरले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको रेन्ज थप्न सक्छ।नयाँ चार्जर अघिल्लो पुस्ताको चार्जरभन्दा सानो आकारको रहेको र छनोट गरिएका मोडलमा दोब्बरसम्म छिटो चार्जिङ उपलब्ध गराउने कम्पनीले जनाएको छ।
एथर नेपालका अनुसार नयाँ ४५०एक्स ओभरटोन्स सिरिज मंगलबारदेखि नै (११ अगस्ट) नेपाली बजारमा उपलब्ध हुनेछ। नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, एथरको पारिवारिक इलेक्ट्रिक स्कुटर रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै एथर नेपालले उपहार अभियानसमेत सञ्चालन गरेको छ। कम्पनीका अनुसार एक्स्पोमा सहभागी आगन्तुकले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्।प्रतियोगितामा सहभागी हुन एथर इनर्जी नेपालका आधिकारिक सामाजिक सञ्जाल पेज फलो गरी हल ‘सी’, स्टल ‘सी२’ मा रहेको एथरको स्टलमा पुगेर स्कुटरसँग फोटो खिच्नुपर्नेछ। उक्त फोटो सामाजिक सञ्जालमा पोस्ट गरी एथर इनर्जी नेपाललाई ट्याग गर्नुका साथै दुई जना साथीलाई समेत ट्याग गर्नुपर्नेछ।
एथरले नाइमा एक्स्पोलाई नेपाली ग्राहकलाई आफ्ना नयाँ इलेक्ट्रिक स्कुटर, स्मार्ट प्रविधि र चार्जिङ समाधान प्रत्यक्ष अनुभव गराउने अवसरका रूपमा उपयोग गरेको जनाएको छ।