काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेसम्म नै सम्पन्न गर्ने गरी विभिन्न तह र निकायका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने गरी विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका यसअघि नै प्रकाशित गरिएको थियो। सोही कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोक्नुका साथै अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरेर अधिवेशन प्रक्रिया अगाडि बढाइसकेको थियो ।
यसैबीच २०८३ साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधानका व्यवस्थालाई ध्यानमा राख्दै महाधिवेशनको पूर्वनिर्धारित मितिमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
२०८३ असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने विषय सम्मानित सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलामा समेत उल्लेख गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनको तयारीअन्तर्गत नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ देशका अधिवेशनसमेत सम्पन्न भइसकेका छन् ।
निर्वाचन कार्यक्रमका अधिकांश प्रक्रिया अगाडि बढिसकेको अवस्थामा पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउनुपर्ने तथा भदौको सुरुआती वर्षायामका कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई समेत ध्यानमा राखेर अधिवेशनको नयाँ समयतालिका तय गरिएको कांग्रेसले जनाएको छ ।
विभिन्न तहका कार्यसमितिबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी पूर्वनिर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहका अधिवेशनको विस्तृत समयतालिका तय गरिएको हो ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिलाई अधिवेशन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो। सोहीबमोजिम नेपाली कांग्रेसको विधानको धारा ३५ को उपधारा २ को खण्ड ‘च’ बमोजिम केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायका अधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
परिमार्जित निर्वाचन कार्यतालिका
१. निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम
२०८३ भदौ २ गतेदेखि १० गतेसम्म काठमाडौँ उपत्यका र उपत्यकाबाहिर निर्वाचन प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले अभिमुखीकरण तालिम प्रदान गर्नेछ।
२. निर्वाचन अधिकृत जिल्लामा खटाउने
२०८३ भदौ ११ गते निर्वाचन अधिकृतलाई सम्बन्धित जिल्लामा खटाइनेछ।
३. वडामा निर्वाचन प्रतिनिधि खटाउने
२०८३ भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ।
४. वडामा अभिमुखीकरण तालिम
२०८३ भदौ १६ गतेदेखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ।
५. बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन
सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशन २०८३ भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
६. गाउँ तथा नगर वडा अधिवेशन
२०८३ भदौ २४ गते गाउँ तथा नगर वडा अधिवेशन हुनेछ। देशभरका ६ हजार ७ सय ४३ वटै वडामा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
७. गाउँ तथा नगरपालिका अधिवेशन
२०८३ भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन हुनेछ।
८. प्रदेश सभा क्षेत्रीय अधिवेशन
२०८३ भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिनेछ।
९. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन
२०८३ असोज ३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशनसमेत सोही दिन हुनेछ। यस क्रममा महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गरिनेछ।
१०. जिल्ला अधिवेशन
२०८३ असोज ७ गते जिल्ला अधिवेशन सम्पन्न हुनेछ।
११. प्रदेश अधिवेशन
२०८३ असोज १० गते प्रदेश अधिवेशन हुनेछ।
१२. केन्द्रीय महाधिवेशन
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते सम्पन्न हुनेछ ।