काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ को १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ । नाडा अटो शो २०२६ को शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने ६ दिने प्रदर्शनीमा तीव्र रूपमा विकसित भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना नवीनतम सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् । साथै, ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसरसमेत प्रदर्शनीले प्रदान गर्ने आयोजकको भनाइ छ ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् । त्यसमध्ये २३ वटा ब्रान्डका यात्रुवाहक कार, १७ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन, १३ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन तथा १० वटा वित्तीय एवं बीमा सेवाप्रदायकका स्टल रहनेछन् ।
त्यस्तै, ७० वटा स्टलमा अटोमोबाइलका पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य उत्पादन र सेवा प्रदर्शन गरिनेछ । प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीसमेत राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीका मुख्य आकर्षण
यस वर्षको नाडा अटो शोको मुख्य आकर्षणमा नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने ‘स्वर्ण उत्सव संस्करण’ रहेको छ । साथै, भविष्यमा यातायातका साधनमा प्रयोग हुने प्रविधि विकासको अनुभव गराउने उद्देश्यले नयाँ प्रविधि तथा अवधारणामा आधारित विशेष प्रदर्शनीसमेत गरिनेछ ।
नेपालमै उत्पादित सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीको प्रवद्र्धनमा समेत प्रदर्शनीले जोड दिनेछ । विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिने तथा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम आयोजना गरिने आयोजकले जनाएको छ ।
पार्किङदेखि सुरक्षा व्यवस्थासम्म
आगन्तुकको सुविधाका लागि प्रदर्शनीस्थलमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिनेछ ।
टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सञ्चारकर्मीका लागि मिडिया डेस्क तथा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सूचना डेस्क राखिनेछ ।
त्यस्तै, नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था मिलाइनेछ । प्रदर्शनीमा आपत्कालीन स्वास्थ्य टोली, सिसिटिभी निगरानी, आगो नियन्त्रणको व्यवस्था तथा ह्विलचेयरमैत्री संरचना रहने आयोजकले जनाएको छ ।
नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ । ६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब दुई लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।