काठमाडौं । हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक लिमिटेड र हेल्भेटास नेपालबीच सहकार्य हुने भएको छ।
बैंकका तर्फबाट प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य श्रृंखला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु रहेको बैंकले जनाएको छ।
दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य श्रृंखलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य श्रृंखला वित्तीयकरणलाई प्राथमिकतामा राख्ने जनाएका छन्।
साझेदारीबारे प्रतिक्रिया दिँदै बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु उत्थानशील नेपाल निर्माणमा योगदान पुर्याउँदै व्यवसायीहरुको वित्तीय पहुँचलाई दिगो बनाउने छ।
कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य श्रृंखलालासम्बन्धी अनुभवलाई एकीकृत गर्दै सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य श्रृंखलामा संलग्न अन्य सरोकारवालाबीच थप प्रभावकारी सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको छ।