काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक रूपमा सबल र आत्मनिर्भर नभएसम्म अपेक्षित महिला सशक्तीकरण हासिल गर्न कठिन हुने बताएकी छन् ।
शुक्रबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला उद्घाटन गर्दै डंगोलले तीज पर्वले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने सन्देशसमेत दिएको बताइन् ।
‘जब सम्म हामी आर्थिक रूपमा सबल बन्न सक्दैनौँ, आफैँमा आत्मनिर्भर हुन सक्दैनौँ, हामीले परिकल्पना गरेको महिला सशक्तीकरण हासिल गर्न निकै कठिन छ,’ उनले भनिन् ।
महिला उद्यमीलाई एकै ठाउँमा भेला गराएर एकअर्कालाई प्रोत्साहन र प्रेरणा दिने वातावरण सिर्जना गर्नु मेलाको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो । उनले मेलामा सहभागी महिला उद्यमीले एकअर्काबाट प्रेरणा लिँदै आफ्नो व्यावसायिक तथा उद्यमशील यात्रालाई थप अघि बढाउन सक्ने विश्वास व्यक्त गरिन् ।
‘सबै जना महिला उद्यमी यसरी एकै ठाउँमा बसेर एकअर्कालाई मोटिभेट र प्रोत्साहन गरिरहनुभएको छ । यो मेलाले सम्पूर्ण उद्यमीलाई व्यावसायिक तथा उद्यमशील जीवनमा अझ धेरै ऊर्जा थपोस्,’ उनले भनिन् ।

महिला उद्यमशीलता तथा घरेलु र हस्तकलाका सामग्रीको प्रवद्र्धनसँगै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
तीज पर्वमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा विभिन्न पहिरनसमेत मेलाका आकर्षण बनेका छन् । मेला भदौ ७ गतेसम्म सञ्चालन हुनेछ ।