काठमाडौं । युवा व्यवसायी सौगात थापाले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको थापाले बताएका छन्।
थापाले पोखराको उद्योग–व्यवसाय क्षेत्रलाई समयअनुकूल, प्रतिस्पर्धी र गतिशील बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार नयाँ व्यवसाय तथा नवउद्यमलाई प्रोत्साहन गर्ने, व्यवसायीले भोग्दै आएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि पहल गर्ने र उद्योगी–व्यवसायीका आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने उनको मुख्य एजेन्डा छ।
‘युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउने मेरो प्रतिबद्धता हो,’ थापाले भने।

उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
त्यसका लागि नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई आवश्यक परामर्श, सहजीकरण र व्यवसायमैत्री वातावरण निर्माण गर्न संघले थप सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
थापाका अनुसार पछिल्लो समय व्यवसाय सञ्चालनमा नीतिगत जटिलता, प्रशासनिक प्रक्रिया, बजारको प्रतिस्पर्धा, वित्तीय पहुँचलगायतका विभिन्न चुनौती छन्। यस्ता समस्या समाधानका लागि उद्योग वाणिज्य संघले निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिदै आएका छन् ।
उद्योगी–व्यवसायीको साझा आवाजलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै थापाले व्यवसायीका वास्तविक समस्या पहिचान गरी सम्बन्धित सरकारी निकायसँग निरन्तर संवाद र समन्वय गर्ने बताएका छन्।
थापा पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा यसअघि नै काम गरिसकेका व्यवसायी हुन् । २०८१ भदौमा भएको निर्वाचनमा उनले खुला कार्यसमिति सदस्य पदमा १ हजार ४९४ मत प्राप्त गर्दै विजयी भएका थिए।
संघको कार्यसमितिमा आफ्नो अनुभवलाई अब नेतृत्वको अर्को तहमा उपयोग गर्ने उद्देश्यसहित उद्योग उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनको भनाइ छ।
थापाले संघमा दुई कार्यकाल सदस्यका रूपमा काम गरिसकेका छन्। यस अवधिमा उद्योगी–व्यवसायीका समस्या, संघको भूमिका तथा निजी क्षेत्रका विभिन्न विषयमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाएको उनी बताउँछन्।
व्यवसायिक क्षेत्रमा सक्रिय थापा पोखराको प्रतिष्ठित व्यवसायिक संस्था अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक हुन्। निजी क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकाले आफूले उद्योग–व्यवसाय क्षेत्रका समस्या नजिकबाट बुझ्ने अवसर पाएको उनको दाबी छ।
अब संघको नेतृत्वमा युवाको प्रतिनिधित्व बढाउँदै परम्परागत व्यवसायसँगै नयाँ प्रविधि, नवउद्यम र आधुनिक व्यवसायिक सोचलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
थापाको उम्मेदवारीसँगै पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। विशेषगरी उद्योग तथा व्यवसाय क्षेत्रमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वको मुद्दा उनको उम्मेदवारीको मुख्य आकर्षण बनेको छ।