काठमाडौं । नेपाली मदिरा उत्पादनको क्षेत्रमा अग्रणी नाम नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहका बीच एनडीपीएलले नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा आफ्नो श्रेष्ठता प्रमाणित गर्दै चारवटा प्रमुख सम्मान प्राप्त गरेको हो ।
दक्षिण एसियाभरका अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, र उपभोक्ता संलग्नताका क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरूलाई प्रदान गरिने यस अवार्डमा एनडीपीएलले दुई स्वर्ण, एक रजत र सबैभन्दा प्रतिष्ठित ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ जित्न सफल भएको छ ।
यस सफलताको केन्द्रमा एनडीपीएलका दुई प्रमुख ब्रान्डहरू ‘खुकुरी’ र ‘न्युड’ रहेका छन्, जसका अभियानहरूलाई सिर्जनात्मक एजेन्सी आउटरीच नेपालले तयार पारेको हो ।
एनडीपीएलको ‘मेरो खुकुरी’ अभियानले दुईवटा विधामा स्वर्ण पदक जित्न सफल भयो । यस अभियानले ‘दक्षिण एसिया इमर्जिङ मार्केट’ र ‘दक्षिण एसिया लास्ट–माइल इनोभेसन’ विधामा स्वर्ण जितेको हो ।

पुस्तौंदेखि उपभोक्ताहरूले कायम राख्दै आएको ब्रान्डसँगको गहिरो सम्बन्ध र अपनत्वलाई सशक्त रूपमा प्रस्तुत गरेका कारण यस अभियानले निर्णायकहरूको मन जित्न सफल भएको हो । उपभोक्तालाई ब्रान्डको कथाको केन्द्रमा राख्दै उनीहरूको भावनालाई सम्मान गर्ने यसको शैलीलाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च प्रशंसा गरिएको थियो ।
समारोहकै सबैभन्दा ठूलो र गौरवपूर्ण सम्मान ‘न्युड’ ब्रान्डको ‘जस्ट बी यु’ अभियानले प्राप्त गर्यो । यस अभियानले ‘दक्षिण एसिया ग्रान्ड प्रिक्स’ जितेर नेपाली विज्ञापन र ब्रान्डिङको इतिहासमा नयाँ मानक कायम गरेको छ ।
व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्म–अभिव्यक्तिको अवधारणामा आधारित यो अभियानले सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत समाजमा पार्न सक्ने सकारात्मक प्रभावलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको छ । साहसी र स्पष्ट ब्रान्ड विश्वासका कारण ‘जस्ट बी यु’ ले दक्षिण एसियाका अन्य ठूला प्रतिस्पर्धीहरूलाई पछि पार्दै यो सर्वोच्च सम्मान प्राप्त गरेको हो ।
यसैगरी, कम बजेटमा पनि प्रभावकारी काम गर्न सकिन्छ भन्ने उदाहरण ‘पोखरा फ्ल्यास मोब’ अभियानले प्रस्तुत गरेको छ । यस अभियानले ‘दक्षिण एसिया स्मल बजेट क्याम्पेन’ विधामा रजत पदक जितेको हो । स्थानीय स्तरको सशक्त बुझाइ र उत्कृष्ट कार्यान्वयनका कारण यसले आफ्नो सीमित बजेटको दायराभन्दा धेरै ठूलो प्रभाव सिर्जना गर्न सफल भएको थियो । यी चारवटै सम्मानले के पुष्टि गरेका छन् भने, ठूलो लगानीभन्दा पनि मानिस र संस्कृतिको गहिरो बुझाइ तथा सिर्जनात्मक सोचले ब्रान्डलाई सफल बनाउन मुख्य भूमिका खेल्छन् ।
यो उपलब्धि नेपाल डिस्टिलरिज र आउटरीच नेपालबीचको बलियो सिर्जनात्मक साझेदारीको परिणाम पनि हो । ब्रान्ड रणनीति, उपभोक्ता अन्तर्दृष्टि र कलात्मक कार्यान्वयनलाई फ्युजन गर्दै नेपाली माटोमा आधारित विचारहरूलाई क्षेत्रीय मञ्चमा प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने यसले प्रमाणित गरेको छ ।
एनडीपीएलका लागि यी अवार्डहरू केवल संख्या मात्र नभएर नेपाली उपभोक्ताबाट प्रेरित सिर्जनशीलताले अन्तर्राष्ट्रिय स्तरमा सम्मान पाउन सक्छ भन्ने बलियो आत्मविश्वासको प्रतीक बनेका छन् । समग्रमा, यो सफलता नेपाली सिर्जनशीलता र ब्रान्डिङ क्षेत्रका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ ।