काठमाडौं, भाद्र २३ – प्रहरीले गैरकानुनी रुपमा भित्र्याइएको १२ हजार ९ सय थान लागुऔषध (फर्मास्युटिकल ड्रग्स) सहित तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले मुख्य कारोबारी शंकर खड्का र लागुऔषध बोक्न प्रयोग गरिएको ना ३ ख ९८९ नम्बरको ट्रकसहित विष्णु प्रधान र डम्बर प्रधानलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार विष्णु र डम्बर भक्तपुरको सल्लाघारी र शंकर खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
विष्णु र डम्बर गाडीचालक हुन् । लागुऔषध खड्काको घरसम्म पुऱ्याउने जिम्मा विष्णु र डम्बरले लिएको प्रहरीले बताएको छ । बरामद लागुऔषधमध्ये ९ हजार ३ सय थान इन्जेक्सनमा प्रयोग गरिने डाइजेपाम र ३ हजार ६ सय थान नाइट्राजेपाम रहेको छ ।
बरामद लागुऔषध दुर्व्यसनीले ४ हजार ३ सय पटक इन्जेक्सनमार्फत प्रयोग गर्न सकिने प्रहरीले बतायो । पक्राउ परेकाहरुमाथि महाशाखाले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसएसपी थापाले जानकारी दिए ।
FACEBOOK COMMENTS