काठमाडौं । वालेन्द्र साह नेतृत्वको नयाँ सरकार गठन हुनु अघिको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ९ सय ५० अंकको हाराहारीमा थियो । आम निर्वाचन पछि चैत १३ गते नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दा नेप्से परिसूचक घटेर २ हजार ५ सय ९० अंकमा झरेको छ ।
सरकार गठन भएको अवधिमा नेप्से परिसूचक ३ सय ५६ दशमलव ८३ अंकले घटेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण पनि ५० खर्ब रुपैयाँभन्दा बढीबाट घटेर करिब ४४ खर्ब रुपैयाँमा सीमित भएको छ । अर्थात् यस अवधिमा शेयर बजारको कुल मूल्यमा ६ खर्ब रुपैयाँभन्दा बढी कमी आएको छ ।
वित्तीय क्षेत्रको अवस्थाको महत्वपूर्ण सूचक मानिने नेप्सेको लगातारको गिरावटलाई लगानीकर्ता तथा अर्थविद्हरूले सरकारप्रति निजी क्षेत्र र लगानीकर्ताको घट्दो विश्वाससँग जोडेर हेरेका छन् ।
शेयर लगानीकर्ताका अनुसार अहिले लगानीकर्तामा बजार प्रति आत्मविश्वासको कमी देखिएको छ । बैंकिङ प्रणालीमा ठूलो मात्रामा तरलता रहेको र ब्याजदर समेत ऐतिहासिक रूपमा न्यून अवस्थामा रहे पनि त्यस अनुसार शेयर बजारमा सकारात्मक प्रभाव पर्न नसकेको जानकारहरुको भनाइ छ ।
जानकारहरुले सरकारले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउने गरी प्रभावकारी नीति ल्याउन नसकेको दाबी गरेका छन् । उनीहरुका अनुसार आर्थिक गतिविधि बढ्न नसक्दा शेयर बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि सरकारका आश्वासन भन्दा ठोस नीति र स्थायित्व आवश्यक रहेको बताइन् । नीतिगत स्पष्टता नहुँदा लगानीकर्ताको विश्वास कमजोर बनेको उनको भनाइ छ ।

बजेट मार्फत पुँजीगत लाभकर बढाइनु, उद्योग व्यवसाय विस्तार हुन नसक्नु तथा अर्थतन्त्रमा देखिएको सुस्तताले शेयर बजारलाई प्रभावित गरेको उनले बताइन् ।
यस्तै, ठूला व्यवसायी तथा लगानीकर्ता माथि भएका कारबाहीले पनि बजारमा नकारात्मक मनोविज्ञान सिर्जना गरेको केही लगानीकर्ताको बुझाइ छ । सम्पत्ति शुद्धीकरण लगायतका विषयमा व्यवसायी माथि हुने कारबाहीले ठूला लगानीकर्ता हच्किँदा त्यसको असर साना लगानीकर्तासम्म पुगेको उनीहरूको तर्क छ ।
शेयर बजारमा आएको गिरावटलाई लिएर प्रधानमन्त्री साहले केही समय अघि पुँजी बजारका सरोकारवालासँग छलफल समेत गरेका थिए । उक्त छलफलमा सरकारले पुँजी बजारलाई आर्थिक विकास, उद्यमशीलता र रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा लिएको बताइएको थियो ।
अर्थविद्हरुले नेप्सेको पछिल्लो गिरावटले अर्थतन्त्रका केही महत्वपूर्ण संकेत दिएको बताएका छन् । बैंकहरूमा ठूलो मात्रामा तरलता थुप्रिएको र ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह बढ्न नसक्नुले निजी क्षेत्रको आत्मविश्वास कमजोर रहेको देखाउने उनीहरुको भनाइ छ ।
उनीहरुका अनुसार शेयर बजारमा आएको गिरावटले वर्तमान सरकारप्रति समेत व्यवसायी तथा लगानीकर्ताको विश्वास पर्याप्त रूपमा बढ्न नसकेको संकेत गर्छ । नयाँ पुस्ताका व्यवसायी तथा लगानीकर्ताहरू विदेशतर्फ आकर्षित भइरहेका कारण पनि देशभित्रको लगानी वातावरण प्रभावित हुन सक्ने उनीहरुको विश्लेषण छ ।
नेपालको शेयर बजारले समग्र अर्थतन्त्रको पूर्ण चित्र नदेखाए पनि वित्तीय क्षेत्र र निजी क्षेत्रको मनोबल बुझ्न नेप्से महत्वपूर्ण सूचक रहेको अर्थविद्हरूको भनाइ छ । २०७८ भदौ २ गते नेप्से परिसूचक हाल सम्मकै उच्च ३ हजार १ सय ९८ अंकसम्म पुगेको थियो । त्यसयता बजारले उक्त उच्च बिन्दु पार गर्न सकेको छैन ।
गत वर्षको आन्दोलन तथा त्यसपछिको निजी क्षेत्रको कमजोर मनोबलले पनि शेयर बजारमा असर पारेको जानकारहरू बताउँछन् । पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सस्तो ब्याजदर हुँदासमेत शेयर बजारमा अपेक्षित सुधार नआउनुलाई लगानीकर्ताको विश्वास र समग्र आर्थिक गतिविधिसँग जोडेर हेरिएको छ ।
हाल नेपालमा करिब ७० लाख डिम्याट खाता रहेको बताइन्छ । अनलाइन शेयर कारोबारका लागि प्रयोग हुने ‘यूजरनेम’ लिने लगानीकर्ताको संख्या पनि करिब २८ लाख पुगेको छ । यद्यपि नियमित रूपमा सक्रिय कारोबार गर्ने लगानीकर्ताको संख्या भने त्यसको तुलनामा निकै कम रहेको जानकारहरूको भनाइ छ ।
लगानीकर्ता तथा अर्थविद्हरूले शेयर बजारमा देखिएको निरन्तर गिरावटलाई सरकारले गम्भीरतापूर्वक लिएर नीतिगत स्थायित्व, निजी क्षेत्रको विश्वास अभिवृद्धि र आर्थिक गतिविधि विस्तारमा ध्यान दिनुपर्ने बताएका छन् ।