काठमाडौं । तिब्बतबाट आएको बाढीले धादिङको फुर्केखोलामा रहेको पुल बगाएको छ । पुल बगेसँगै धादिङ सदरमुकाम धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक सम्पर्क प्रभावित भएको छ।
स्थानीय राजकुमार सेढाईका अनुसार बुधबार आएको बाढीले फुर्केखोलाको पुल पूर्णरूपमा बगाएको हो । पुलको छेउमै होटल व्यवसाय सञ्चालन गर्दै आएका सेढाईको घरसमेत बाढीले बगाएको उनले जानकारी दिए ।
अचानक आएको बाढीले पुलसहित आसपासका संरचनामा क्षति पुर्याएको हो पुल बगाएपछि धादिङबेँसीबाट राष्ट्रिय राजमार्गतर्फ हुने आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।
बाढीका कारण फुर्केखोला आसपासको सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन र प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम अघि बढाएका छन्।
बाढीका कारण पुल बग्दा धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सडकमा यातायात प्रभावित भएको छ। थप क्षतिको विवरण भने संकलन भइरहेको छ।