काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगाएको छ । ३५ प्रहरी अझै सम्पर्कबाहिर छन् ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त अपडेटअनुसार बुधबार विहान ९:१५ बजे रसुवागढी गाउँपालिका २ स्थित इप्रका टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसी सम्पर्कमा नभएको तथा इप्रका समेत बाढीको कारण बगाएको छ ।
त्यसमध्ये टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ जनामध्ये एकजनामात्रै सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा कार्यरत ९ जना मध्ये ४ जना सम्पर्कमा आएको अपडेटमा उल्लेख छ ।
नुवाकोटको त्रिशुली बजारमा पानीको बहाव बढेको र नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ । धादिङको पृथ्वीराजमार्गस्थित महेसखोलामा डुवान भएको छ ।
बागमती प्रदेश प्रहरी गुल्म हेटौंडाबाट १०:५५ बजेको समयमा एसएसपी पुरुषोतम सुवेदीको कमाण्डमा १५ जनाको टोली रसुवाको लागि प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीको बहाव अहिले धादिङको गल्छी गाउँपालिका २ मलेखुमा पुगेको छ ।